
फिल्म ‘बलिदान’को दुई वटा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्मको प्रदर्शन मिति वि.सं २०८२ सालको दशैंको फूलपाति अर्थात् असोज १३ गतेलाई तोकिएको निर्माणपक्षले घोषणा गरेको छ ।
फिल्मको सार्वजनिक फस्टलुकमा नायक समीर भट्टको दुइवटा लुक्स प्रस्तुत गरिएको छ । फिल्मका निर्देशक सन्तोष सेनले यो फिल्मले नेपालको सार्वभौम भूमिका भइरहेको शोषण, अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको संघर्षको कथा भनेका छन् ।
सार्वजनिक गरिएको दुई पोस्टरमध्ये एक पोस्टरमा नायक समीर भट्ट कालिमाताको अगाडि उभिएर हातमा त्रिशुल र हतियार बोकेर भावुक मुद्रामा देखिएका छन् । यो फिल्ममा समीरले दानव प्रवृत्तिका मानिसहरूको बली चढाएपछिको दृश्य हो । यस्तै, अर्को पोस्टरमा समीर केही भिलेनहरुको नरसंहार गर्दै गरेको अवस्थामा छन् ।
यसले, पनि फिल्मको कथावस्तु कुन शैलीमा तयार पारिएको छ भन्ने वुझ्न सकिन्छ । यो फिल्म निर्माण गर्नका लागि निकै नै मिहिनेत गरिएको निर्माणपक्षले बताएको छ ।
फिल्ममा दक्षिण भारतीय चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा ३० जनाको टोलीले अत्याधुनिक प्रविधिबाट एक्सनको दृश्य खिचेको छ । यस्तै, फिल्ममा ४२ फिट अग्लो कालिमाताको भव्य मुर्ति समेत निर्माण गरि क्लाइमेक्सको दृश्य छायांकन गरिएको थियो ।
फिल्ममा समीरको साथमा सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय लगायतको अभिनय छ । फिल्ममा दक्षिण भारतीय फिल्मका १ सय ५० फाइटरहरुले समेत काम गरेका छन् । ।
आशुसेन फिल्मस्को प्रस्तुतिमा तयार भएको यो फिल्ममा पवन ब्राडफोर्ड बिस्टको लगानी छ भने कार्यकारी निर्माता प्रेम पुरी हुन् ।