सुरक्षा पन्तको समर्थन गरेपछि ऋचा शर्मामाथि अभद्र टिप्पणी

नायिका ऋचा शर्मा सामाजिक सञ्जालमा अभद्र टिप्पणीको सिकार भएकी छन्। एक व्यक्तिले उनलाई व्यक्तिगत रुपमा सन्देश पठाउँदै आपत्तिजनक भाषा प्रयोग गरेका छन्। ऋचाले उक्त व्यक्तिले पठाएको म्यासेजलाई सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन्, यद्यपि केही समयमै उनले पोस्ट हटाइन्।
गत दुई दिनअघि नायिका सुरक्षा पन्तको विवादमा समर्थन जनाउँदै ऋचाले सामाजिक सञ्जालमा एक स्टाटस लेखेकी थिइन्। उक्त स्टाटसमा उनले लेखेकी थिइन्, “आजभोलि केही मानिसहरूलाई लागिरहेको छ कि तिमीले जे भन्यौँ, त्यो सधैं उनीहरुको पक्षमा हुनुपर्छ। तर, म तिमीलाई सम्झाउन चाहन्छु, तिमीले आफ्नो विचार राख्नु, प्रश्न उठाउनु, असहमति जनाउनु एकदम ठीक कुरा हो। तिमी आफ्नो आवाज हौ, अरूको प्रतिध्वनि होइनौ।”
उनले कसैलाई मन नपर्ने कुरा भन्नु गलत होइन भन्दै सुरक्षालाई समर्थन गरेकी थिइन्। यस्तै समर्थनपछि ऋचालाई लक्षित गर्दै केही व्यक्तिहरुले व्यक्तिगत रुपमा म्यासेज पठाउँदै उनको चरित्र र समग्र फिल्म क्षेत्रका नायिकाहरूको निजी जीवनमाथि अभद्र र आपत्तिजनक टिप्पणी गरेका थिए।
सामाजिक सञ्जालमा कलाकारहरूको स्वतन्त्र अभिव्यक्तिमाथि प्रश्न उठ्ने क्रम बढिरहेका बेला ऋचामाथिको यस्तो व्यवहारले फेरि एकपटक कलाकारहरूको सुरक्षाका विषयमा बहस चर्काएको छ।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।