News

‘वडा नम्बर ६’ टिम पुनः एकत्रित हुने संकेत, ‘पाँच पाण्डव’ फिल्ममा देखिने सम्भावना

image 2
image 2

काठमाडौँ । नेपाली हास्य चलचित्र ‘६ एकान ६’ र ‘वडा नम्बर ६’मा सँगै काम गरेका कलाकार सीताराम कट्टेल, दीपकराज गिरी, जितु नेपाल र केदार घिमिरे फेरि एउटै फ्रेममा देखिने सम्भावना बढेको छ।

यसअघि फिल्म ‘वडा नम्बर ६’ पछि सीताराम कट्टेल टिमबाट अलग भएर सामाजिक कार्यमा होमिएका थिए। उता, दीपकराज गिरी, जितु नेपाल र केदार घिमिरे भने फिल्म निर्माणमा निरन्तर लागिरहे। यसबीचमा सीताराम ‘सेन्टी भाइरस’ र ‘लाज शरणम्’ जस्ता केही फिल्ममा देखा परे तर ती फिल्मले अपेक्षित सफलता हासिल गर्न सकेनन्।

यता, दीपकराज, जितु र केदारबीचको टिम पनि क्रमशः टुट्दै गयो। जितु नेपाल र केदार घिमिरे बाहिरी ब्यानरका फिल्ममा देखा पर्न थाले। दीपक पनि ‘छक्का पन्जा ६’ निर्माण अघि अन्य ब्यानरका फिल्ममा संलग्न हुन थालेका छन्।

हालै भने यी कलाकारहरू फेरि एक हुने संकेत देखिएको छ। केही साता अगाडि सार्वजनिक भएको समाचार अनुसार, सीताराम कट्टेल र कुञ्जना घिमिरे फिल्म ‘पाँच पाण्डव’मा काम गर्न लागेका छन्। यो फिल्ममा पाँच जना मुख्य नायक आवश्यक पर्ने हुँदा निर्देशक वसन्त निरौलाले दीपकराज गिरी, जितु नेपाल र केदार घिमिरेलाई पनि अफर गरेका छन्।

फिल्म ‘लाज शरणम्’का निर्माता नविन श्रेष्ठको निर्माणमा बन्न लागेको ‘पाँच पाण्डव’मा ‘वडा नम्बर ६’का चार मुख्य कलाकारलाई पुनः एकत्रित गराउने तयारी भइरहेको बुझिएको छ। हाललाई सीतारामले भने फिल्म साइन गरिसकेका छन् भने अन्य कलाकारहरू स्क्रिप्टको अन्तिम रुप हेरेपछि निर्णय गर्ने चरणमा छन्।

दीपक, जितु र सीतारामले केही समयअघि एउटै फोटो पोस्ट गरेर ‘पुनर्मिलन’को संकेत समेत दिएका छन्। लामो समयको दूरीपछि कलाकारहरूबीचको सम्बन्ध फेरि बलियो बन्दै गएको देखिन्छ।

फिल्म क्षेत्रमा सफलताका लागि फुटेर होइन जुटेर काम गर्न सकिने अनुभूति भएपछि उनीहरू फेरि संगै आउने तयारीमा देखिएका छन्।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments