
रोहित अधिकारीको निर्माणमा तयार हुन लागेको फिल्म ‘भाइटिका’मा नायक विपिन कार्की फाइनल भएका छन् । विपिनसँग यसको निर्माणपक्षले संझौता गरिसकेको वुझिएको छ । तर, आधिकारिक रुपमा निर्माणपक्षले भने केही पनि बताएको छैन ।
फिल्ममा विपिन सेयरमा काम गर्न तयार भएका छन् । फिल्मको कथावस्तु निकै मन परेपछि विपिनले केही रकम लिएर बाँकी सेयरमा काम गर्न तयार भएको वुझिएको छ ।
विपिनले यो वर्ष फिल्म ‘भाइटीका र काजी’को मात्र छायांकन गर्नेछन् । फिल्म ‘ऊनको स्विटर’ सुपरहिट भएपछि नायक कार्कीको माग बजारमा बढेको छ । तर, उनले नाम चलेका केही निर्देशकको फिल्मलाई समेत अस्विकार गरिसकेका छन् ।
तर, उनलाई ‘भाइटिका’को कथाले छोएपछि नाफाको शेयर प्रतिशतमा बसेर काम गर्न तयार भएका हुन् ।
दीपक वलीको कथा तथा निर्देशनमा तयार हुन लागेको फिल्ममा महेश दवाडीको लेखन, शम्भुजित बास्कोटाको संगीत रहनेछ । फिल्मको बारेमा अरु केही पनि बताइएको छैन । यो फिल्मलाई आउँदो वर्षको तिहारमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।
निर्माता अधिकारीले नै बनाएको फिल्म ‘माइतीघर’ यो वर्षको दशैंको फूलपातिबाट रिलिजमा आउँदैछ ।