Todays Date: २०८३ बैशाख १०

केदार घिमिरे भन्छन्- ‘६१ लाख पारिश्रमिक लिएको प्रमाणित भए फिर्ता दिन तयार छु’

kedar

कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ फेरि चर्चामा छन् । चलचित्र ‘माग्ने राजा’ मा उनले ६१ लाख रुपैयाँ पारिश्रमिक लिएको भनाइ निर्माता मुनाल घिमिरेबाट सार्वजनिक भएपछि यो विषय अहिले फिल्म बजारको चासोको केन्द्र बनेको छ । तर, केदारले उक्त दाबीलाई स्पष्ट रूपमा अस्वीकार गरेका छन् ।

पोस्टर सार्वजनिक कार्यक्रममा निर्माता घिमिरेले दिएको बयानपछि केदार महँगा पारिश्रमिक लिने कलाकारको सूचीमा राखिए पनि, मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा केदारले त्यो रकम आफूले नलिएको दाबी गरे ।

उनले भने, “मैले ६१ लाख लिएको होइन । कति लिएको भन्ने सार्वजनिक गर्न चाहन्न, तर यति धेरै होइन ।”

केदारका अनुसार निर्माता मुनाल घिमिरेले प्रचारका लागि त्यो कुरा बाहिर ल्याएका हुन् । “उहाँले भने– ‘हाइप त बनाउनु पर्‍यो नि, जे भने पनि हल्ला चाहिन्छ’, भनेर ६१ लाखको कुरा भन्नुभयो,” केदारले प्रष्ट्याए, “तर मैले त्यो रकम लिएको छैन । नलिएको कुरालाई किन यति धेरै बढाउने भनेर पनि भनेको थिएँ ।”

आफू कलाकारिता गर्ने मान्छे भएको र यति ठूलो रकम माग्ने स्थिति नभएको केदारको भनाइ छ । “मैले आफ्नो कामबाट अघि बढ्न चाहेको हो,” उनले भने, “पैसाको पछि होइन, कामको पछाडि लागेको मान्छे हुँ ।”

यदि आफूले ६१ लाख लिएको प्रमाणित भएमा त्यो पैसा फिर्ता दिन तयार रहेको समेत उनले खुलासा गरे ।

“यदि कसैले प्रमाणसहित देखायो भने म त्यो ६१ लाख फिर्ता गरिदिन्छु,” उनले उक्त कार्यक्रममा घोषणा गरे ।

फिल्म ‘माग्ने राजा’ लाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् भने कथा सामिप्यराज तिमिल्सिनाले लेखेका हुन् । चलचित्र भदौ ६ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।

चलचित्र केदारका साथमा वर्षा सिवाकोटी, आर्यन सिग्देल, विल्सन विक्रम राई लगायतका कलाकारहरूको अभिनय छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x