
कलाकार विल्सन विक्रम राईको डेब्यू निर्देशनमा तयार हुन लागेको फिल्म ‘मैझारो’का लागि मुख्य कलाकारहरू फाइनल भएका छन् । यो फिल्मको निर्माणपक्षले सोमबार नायक धिरज मगरसँग कागजी सम्झौता गरेको थियो ।
अब, फिल्ममा नायिका मिरुना मगरको प्रवेश भएको छ । हालै मात्र ‘ऊनको स्विटर’ सुपर हिट दिएर ‘जारी २’को छायांकन सक्दै ‘जनै हराएको मान्छे’को प्रचारमा दौडिरहेकी मिरुना अब ‘मैझारो’को छायांकन सुरु गर्ने तयारीमा छिन् ।
धिरज र मिरुनाले फिल्म ‘कुस्ती’मा पनि एकसाथ काम गरेका छन् । यो फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन ।
विल्सनकै कथा रहने यो फिल्मलाई सौरभ लामाले खिच्नेछन् । साउनको पहिलो साताबाट छायांकनमा जाने यो फिल्मलाई इलाम र पाँचथरमा खिचिनेछ । फिल्मले पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थतालाई देखाउनेछ ।