
अभिनेत्री रेखा थापाले २५ वर्षपछि म्युजिक भिडियोमा अभिनय गरेकी छन् । गायक तथा अभिनेता प्रकाश सपुतको तीज गीत ‘नाइँ भनेसी नाइँ’बाट उनले म्युजिक भिडियोमा पुनरागमन गरेकी हुन् । यो म्युजिक भिडियोको आज सोमबार पहिलो झलक सार्वजनिक भएको छ ।
यो गीतको फर्स्टलुक पोस्टरमा अभिनेत्री थापालाई दुर्गामाताको अवतारमा देख्न सकिन्छ । हातमा त्रिशुल बोकेर क्रोधित मुद्रामा देखिएकी दुर्गामाताको रुपमा रेखा चित्रित छिन् । लामो समयपछि गायक सपुतले रेखालाई आफ्नो म्युजिक भिडियोमा प्रस्तुत गरेर दर्शकलाई ठूलै सरप्राइज दिएका हुन् । सार्वजनिक पोस्टरमा ‘यसपाली तीजमा हरामीहरूका विरुद्ध सुपरस्टार रेखा थापा’ लेखिएको छ ।
‘नाइँ भनेसी नाइँ’ बोलको गीतमा शब्द तथा संगीत प्रकाशकै छ भने स्वर समीक्षा अधिकारी र एलिना चौहानको छ । आगामी साउन १६ गते शुक्रबार यो गीत रिलिज हुने गलबन्दी प्रोडक्सनले जानकारी दिएको छ । महिला हिंसा, अन्याय र अत्याचारविरुद्धका कथावस्तुमा हामीले रेखालाई देख्दै आएका छौं ।
‘महिलाले नो भन्न सिक्नुपर्छ भन्ने हो । जहाँ नारीको सवाल आउँछ, त्यहाँ रेखा थापा उभिन्छ । अनि यो गीतमा अभिनय गर्न तयार हुनुको मुख्य कारण पनि यही हो । यो सँगै प्रकाश जीको गीतले समाजमा केही न केही सन्देश दिने भएकाले पनि आफु लामो समयपछि म्युजिक भिडियोमा काम गर्न तयार भएकी हुँ,’ उनले भनिन् ।