News

विजयको ‘जनै हराएको मान्छे’ले के गर्ला वक्सअफिसमा ?

bijya baral news
bijya baral news

कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले अभिनेता विजय बरालको करिअर नै कायापलट गर्‍यो । यसअघि सहायक भूमिकामा सीमित भएका उनलाई ‘सारङ्गी’को व्यावसायिक सफलतापछि मुख्य भूमिकामा फिल्म अफरको ओइरो लागेको छ । उनको पारिश्रमिक नै झन्डै चार गुणाले बढेको छ । अहिले उनी महंगो पारिश्रमिक बुझ्ने नेपाली अभिनेताको ‘टपटेन’ सूचीभित्र अटाउँछन् ।

उनै विजयले ‘सारङ्गी’पछि मुख्य भूमिकामा अभिनय गरेको नयाँ फिल्म ‘जनै हराएको मान्छे’ आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउँदैछ । उनी जोडिएकै कारण यो फिल्मको बक्स अफिस नतिजा कस्तो होला भन्ने चासो धेरैमा छ । उनको स्टारडमको मापन यही फिल्मबाट हुने विश्लेषण पनि भैरहेको छ । यसैले उनलाई ‘सारङ्गी’को बेलाभन्दा यसपटक व्यावसायिक दबाब बढी देखिन्छ ।

तर, विजय बक्स अफिसको दबाब लिएर आफू नबसेको बताउँछन् । उनी भन्छन्, ‘फेरि पनि आफ्नो फिल्मले बक्स अफिसमा ‘पूर्ण बहादुरको सारङ्गी’को जस्तै अंक जोडोस् भन्ने चाहना त हुन्छ । तर, नतिजा के हुन्छ भन्ने कुरा हाम्रो हातमा हुँदैन । मैले ‘सारङ्गी’को बक्स अफिस अंकको दबाब बोकेर हिँडेको छैन । यद्यपि, मप्रति दर्शकको अपेक्षालाई पूरा गर्न काममा चाहिँ मेहनत गरिएको छ ।’

हिमाल न्यौपानेले निर्देशनमा बनेको ‘जनै हराएको मान्छे’मा विजयसहित केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको अभिनय रहेको छ । पेपरस्लिपका कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेको फिल्मले सम्बन्धमा आउने उतारचढावको कथा भन्ने जनाइएको छ ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments