
यतिबेला हलहरू प्रदर्शनरत चार नेपाली फिल्मको आधिकारिक बक्स अफिस तथ्यांक सार्वजनिक भएको छ । सोमबार चलचित्र विकास बोर्डले ‘जेरी अन टप’, ‘परान’, ‘जारी २’ र ‘मन बिनाको धन’को कमाइ विवरण सार्वजनिक गरेको हो । जसमा सबैभन्दा धेरै कमाइ ‘जेरी अन टप’को देखिन्छ । यसले ३० दिनमा १२ करोड ७ लाखभन्दा माथिको ग्रस व्यापार गरेको छ ।
कमाइको मामलामा ‘परान’ दोस्रो स्थानमा छ । यसले गत शनिबारसम्म कुल ९ करोड ८६ लाख ९४ हजार रुपैयाँ ग्रस कमाइ गरेको छ । आइतबारसम्म फिल्मले १० करोडको आँकडा पार गरेको देखिन्छ । अब ‘जेरी अन टप’को रेकर्ड तोड्न ‘परान’ दुई करोडले मात्र टाढा छ । फिल्मको व्यापारिक रफ्तार अझै बलियो रहेकाले १५ करोडको आँकडा छुनसक्ने प्रक्षेपण गरिएको छ ।
‘परान’पछि उच्च कमाइ फिल्म ‘जारी २’को छ । यो फिल्मले कात्तिक २९ गतेसम्म ४ करोड ९२ लाख २२ हजार रुपैयाँ कमाएको बोर्डको तथ्यांकमा उल्लेख छ । आइतबारसम्म फिल्मको कमाइ ५ करोड नाघिसकेको छ । ‘जारी २’लाई कमाइमा ‘मन बिनाको धन’ले पछ्याइरहेको छ । यसको ९ दिनको कमाइ २ करोड ४३ लाख ३५ हजार रुपैयाँ ग्रस छ ।