News

‘पाँच पाण्डव’को छायांकन सुरु

WhatsApp Image 2026 03 16 at 13.18.57
WhatsApp Image 2026 03 16 at 13.18.57

काली रानी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु भएको छ । सोमबार झापाको नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट फिल्मको शुभ–मुहूर्त गर्दै छायांकन थालिएको हो ।

क्यामेरा पूजा गर्दै छायांकन थालिएको फिल्मको पहिलो दिनको सेड्युलमा फिल्मका मुख्य कलाकारहरूको उपस्थिति रहेको थियो । फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) रहनेछन् । ‘पाँच पाण्डव’को भूमिकामा यी कलाकार रहनेछन् ।

फिल्मको शीर्षक ‘पाँच पाण्डव’ राखिए पनि यो कुनै धार्मिक वा पौराणिक कथामा आधारित फिल्म भने होइन । निर्माण पक्षका अनुसार यो पूर्ण रूपमा एक ‘सोसल ड्रामा’ (सामाजिक कथा) हो । फिल्ममा महाभारतका पाँच पाण्डवको बिम्बलाई प्रयोग गर्दै समकालीन समाजको कथा भन्न खोजिएको छ । फिल्मको महिला पात्रमा दीपाश्री निरौला र जनी गुरुङ रहने छन् ।

फिल्ममा वसन्त निरौलाको निर्देशन रहनेछ । फिल्ममा सुशील पौडेलको कथा, पटकथा तथा संवाद छ । नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहने फिल्मको निर्माता काली रानी श्रेष्ठ हुन् । फिल्ममा श्याम तामाङको छायांकन हुनेछ । करिब ४० दिनको छायाकंन तालिका तय गरिएको अधिकांश दृश्य झापा मै खिचिने निर्माण टिमले जानकारी दिएको छ ।

फिल्म ‘पाँच पाण्डव’मा दर्शकले फूल डल्बी एट्मस साउन्डको अनुभव गर्न पाउने छन् । म्युजिक नेपालले भर्खरै मात्र नेपालमै सञ्चालनमा ल्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा ‘पाँच पाण्डव’को साउन्डको काम हुने छ । झापाका विभिन्न रमणीय स्थानहरूमा छायांकन सकेपछि टोलीले अन्य स्थानको सेड्युल तय गर्ने निर्देशक निरौलाले जानकारी दिए ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments