
यही चैत १९ गतेबाट काठमाडौंमा हुन लागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा भारतीय निर्देशक रमेश सिप्पी र नेपाली अभिनेता राजेश हमालबीच संवाद कार्यक्रम तय भएको छ । ‘निफ’को दोस्रो दिन (शुक्रबार) सिप्पी र हमालबीच संवाद कार्यक्रम राखिएको आयोजकले जनाएको छ । कार्यक्रम दिउँसो ३ बजे भृकुटीभण्डपस्थित नेपाल पर्यटन बोर्डमा हुनेछ ।
सिप्पी र हमालको संवाद कार्यक्रमको शीर्षक ‘सिनेमा संवाद : रमेश सिप्पी र राजेश हमालसँग’ राखिएको छ । कार्यक्रममा नेपाली र बलिउड फिल्मको यात्रा, व्यक्तिगत अनुभव, विश्व फिल्मको विगत, वर्तमान र भविष्यका विषयमा दुई हस्तीले कुराकानी गर्ने ‘निफ’का अध्यक्ष केपी पाठकले बताए । उनका अनुसार ‘शोले’का निर्देशक समेत रहेका सिप्पी चैत १८ गते नेपाल आउनेछन् ।
सिप्पी र हमालबीच अंग्रेजीमा संवाद हुने जानकारी दिँदै अध्यक्ष पाठकले भने, ‘दुई लेजेन्डको अनुभव, उनीहरूको भोगाइ र फिल्मको विगतदेखि भविष्यका विषयमा उहाँहरूले संवाद गर्नुहुनेछ । निफमा लिजेन्ड निर्देशक सिप्पीको उपस्थितिले बलिउड उद्योग र नेपाली फिल्म क्षेत्रको सम्बन्ध थप विस्तार र मजबुत हुने अपेक्षाले यो कार्यक्रम राखिएको हो ।’
‘निफ’को नवौं संस्करण चैत १९ गतेदेखि २३ गतेसम्म हुनेछ । आयोजकका अनुसार महोत्सवमा नेपालसहित ४० देशका ८८ फिल्म देखाइनुका साथै फरक–फरक विषयमा १० वटा अन्तर्क्रियात्मक कार्यक्रमहरू पनि राखिनेछ । प्रतिस्पर्धामा सहभागी नभएका १० वटा चिनियाँ र रसियन फिल्महरू पनि ‘निफ’मा प्रदर्शन गरिने जनाइएको छ ।