
आगामी जेठ १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एक मुठ्ठी बादल’को पहिलो गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक गरिएको छ । मीना पोखरेल र इन्द्रकला राईको स्वर रहेको गीतमा संगीत सुमित पाठकको छ भने शब्द हर्क साउदले लेखेका हुन् । गीतले एउटै घरमा बस्ने तीन पुस्ताका महिलाको बेदना, भोगाइ र अनुभूतिलाई प्रस्तुत गरेको छ ।
फिल्मको प्रचारका लागि तयार पारिएको गीतको भिडियोमा आँचल शर्मा, निशा शर्मा, उषा रजक, सहयोग अधिकारी लगायतका कलाकारहरूलाई देख्न सकिन्छ । आँचल र उषाले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । आँचल र सहयोगबीच प्रेम सम्बन्ध रहेको देखाइएको भिडियोमा उनीहरूको विवाहअघिको पारिवारिक जमघट र रमाइलो माहोललाई प्रस्तुत गरिएको छ ।
निर्देशक सहारा शर्माका अनुसार गीतमा अभिव्यक्त आवाज नै फिल्मको कथासार हो । उनले फिल्मको भाव समेट्न गीतकार हर्क साउदसँग विभिन्न चरणमा काम गरेको स्मरण गर्दै गीतमा हजुरआमादेखि नातिनी पुस्तासम्मको भावना समेटिएको बताएकी छन् । फिल्मले समेटेका धेरै विषयमध्ये एउटा विषय गीतमा बुनिएको उनको भनाइ छ ।
निर्देशक शर्मा स्वयंको लेखन रहेको यस फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, अविरलप्रताप अधिकारी लगायतका कलाकारहरूले अभिनय गरेका छन् । लिन्ह डान गुयेन फानको छायांकन रहेको फिल्ममा अभिमन्यु दीक्षित निर्मातामा छन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा छन् ।