Todays Date: २०८२ चैत्र १९

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल

आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । नयाँ पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्कासँगै डेब्यु अभिनेता विशाल देवकोटा देखिएका छन् । निर्माण पक्षले सार्वजनिक गरेको नयाँ पोस्टरमा स्वस्तिमा र विशाललाई जोडीको रुपमा प्रस्तुत गरेको छ ।

नेपालको रंगमञ्चमा अभिनेतासँगै निर्देशकको रुपमा चिनिएका विशाल ‘लालीबजार’मा अडिसनमार्फत छनोट भएका थिएँ । उनको अभिनय कौशलताकै कारण डेब्यु फिल्ममै स्वस्तिमाको जोडी बन्ने अवसर प्राप्त गरेको निर्माण कम्पनि षट्कोण आट्र्सले जनाएको छ ।

सानैदेखि कलाकार बन्ने सपना बोकेका विशाल नाटकमार्फत अभिनयलाई नजिकबाट बुझ्दै अघि बढेका थिए । रंगमञ्चमा काम गर्दै अनुभव बटुलेका देवकोटाले त्यसैको निरन्तरतास्वरूप फिल्म क्षेत्रमा प्रवेश गरेका हुन् । विशाललाई पछिल्लो समय उदयीमान कलाकारको रुपमा हेरिएको छ । उनले नाटकमा अभिनय गर्दा देखाएको कलाकारिताको राम्रै चर्चा हुन् थालेको छ ।

‘सानैदेखि कलाकार बन्ने इच्छा थियो, त्यही सपना पछ्याउँदै आज यहाँसम्म आइपुगेको हुँ,’ उनले भने ।
उनका अनुसार कान्तिपुर थिएटरमा मञ्चन भएको ‘मीरा’ नाटकमा अभिनय गर्दा नै फिल्म ‘लालीबजार’को टिमको ध्यान उनीतर्फ खिचिएको थियो । त्यसपछि अडिसनका विभिन्न चरण पार गर्दै उनी फिल्ममा छनोट भएका थिए । यसरी रंगमञ्चको अनुभवले उनलाई फिल्ममा प्रवेश गर्ने ढोका खोलेको उनले बताएका छन् ।

उनले भने, ‘मैंले लास्ट टाइम कान्तिपुर थिएटरमा एउटा प्ले गरेको थिएँ ‘मिरा’मा । त्यो प्ले हेर्न प्रदिप भट्टराई सर, रबिन दाई अनि जेवी दाई आउनुभएको थियो । उहाँहरुले हेरिसकेपछि एकचोटि अप्सनका लागि भनेर अफिसमा बोलाएर अडिसनको सिलसिलाहरु सुरु भएको थियो ।’

रंगमञ्च र फिल्म अभिनयबीचको भिन्नता अनुभव गर्दै उनले दुवै माध्यममा अभिनयको स्वरूप फरक हुने बताए । रंगमञ्चमा एकैपटक पात्रलाई पूर्ण रूपमा जिउन पाइने भएपनि फिल्ममा भने दृश्य–दृश्यमा टुक्रिएर अभिनय गर्नुपर्ने उनको अनुभव छ । फिल्ममा कथावस्तु समाजको यथार्थसँग जोडिएको उल्लेख गरे ।

‘यो हाम्रो समाजकै यथार्थमा आधारित कथा हो, जसले एउटा परिवेश र त्यहाँको माहोल प्रस्तुत गर्छ,’ उनले भने । रंगमञ्च र फिल्म अभिनयबीचको फरकबारे बोल्दै देवकोटाले नाटकमा एकैपटक पात्रलाई जिउन पाइने तर फिल्ममा टुक्राटुक्रामा अभिनय गर्नुपर्ने अनुभव सुनाए ।

नयाँ टिमसँग काम गर्दा पनि आफूलाई सहज अनुभव भएको उनले बताए । षट्कोण आट्र्स जस्तो स्थापित ब्यानरबाट डेब्यु गर्न पाउनु आफ्नो लागि सौभाग्य भएको उनको भनाइ छ । उनले दर्शकलाई ‘लालीबजार’ परिवारसहित हेर्न आग्रह गरे । ‘यो पारिवारिक रूपमा हेर्न मिल्ने, रमाइलो र नयाँ कथामा आधारित फिल्म हो । बैशाख १८ गतेदेखि नजिकका सिनेमा हलमा गएर हेर्नुहोस्,’ उनले भने ।

फिल्मको सार्वजनिक गीत ‘मायालाई के दिउँ म बैना’ लाई दर्शकले रुचाएका छन् । फिल्मको उक्त गीतलाई ८० लाख दर्शकले हेरिसकेका छन् । फेसबुक रील्स, टिकटक भिडिओसँगै युट्युब सट्समा समेत उक्त गीतमा भिडिओ बनाउनेको सङ्ख्या बढ्दो छ ।

बर्दियाको राजापुरमा छायांकन गरिएको उक्त फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी लगायतको अभिनय रहेको छ ।

यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् । विशाल थियटरमा काम गरीरहेका कलाकार हुन् भने प्रसंशा जेनजी अभिनायताका रुपमा चर्चित छिन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् ।

फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् । फिल्ममा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलर रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड म्युजिक र मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, पब्लिसिटी डिजाइनर रोयल भीमसेन (ट्राइडेन्ट) कस्ट्युम डिजाइनर र स्टाइलिस जानकी कडायत, मेकअप काव्या थापा, सङ्गीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको रहेको छ ।

couple poster Lalibazar Trident Concept 2026.jpg
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x