Todays Date: २०८२ चैत्र १९

‘मालती मंगले’को गीतमा विजय बरालको ‘शाहरुख अवतार’

bij e1775060727471

नेपालमा विदेशी फिल्मको प्रभाव ठूलो छ । अझ व्यापक प्रभाव बलिउड फिल्मको छ । त्यहाँका कलाकारहरूको हाउभाउदेखि लुक्ससम्म नेपाली फिल्ममा नै नक्कल गर्ने गरिन्छ । यसको ताजा उदाहरण हो, फिल्म ‘मालती मंगले’ । यो फिल्मको बुधबार युट्युबमार्फत् सार्वजनिक ‘ढुङ्गामाथि लेऊ’ गीतमा कलाकार विजय बराललाई शाहरुख खानको शैलीमा प्रस्तुत गरिएको छ ।

सन् २००० मा प्रदर्शन भएको बलिउड फिल्म ‘मोहब्बतें’मा शाहरुखको एउटा ‘स्टाइल’ निकै लोकप्रिय भएको थियो । जसमा उनले काँधमा स्वीटर राखेर ‘भायोलिन’ बजाएका थिए । फिल्मको यो दृश्य ‘आइकनिक’ मानिन्छ । ‘मालती मंगले’को गीतमा विजयलाई पनि शाहरुखको त्यही ‘मोहब्बतें’ शैलीमा प्रस्तुत गरिएको छ । अर्थात् काँधमा स्वीटर र हातमा भायोलिन ।

गीतको १ मिनेट ३३ सेकेण्डमा विजयलाई भायोलिनसहित शाहरुखको अवतारमा देख्न सकिन्छ । कोरियोग्राफर रोशन विकले उनलाई शाहरुखको ‘ट्रेडमार्क पोज’ (दुई हात फिजाउने) समेत गर्न लगाएका छन् । गीतको भिडियो हेर्दा कोरियोग्राफर वा फिल्मका निर्देशकको उद्देश्य विजयलाई जसरी पनि शाहरुखजस्तै देखाउनु रहेको देखिन्छ ।

गीत युट्युबमा रिलिज भएसँगै फिल्मका निर्माता तथा गायक रामकृष्ण ढकालले विजयलाई शाहरुखको शैलीमा देखाइएकोबारे स्पष्टीकरण दिएका छन् । उनले फिल्मको कथामा वर्षा राउतको पात्रले विजयमा शाहरुखलाई देख्ने भएकाले गीतमा त्यसैको झल्को दिने प्रयास गरिएको बताएका छन् । फिल्ममा भने विजय शाहरुख खानको ‘स्टाइल’मा नदेखिने उनले स्पष्ट पारे ।

रामकृष्ण ढकाल र ऋतिका श्रेष्ठको स्वर रहेको गीतमा शब्द हर्क साउदको छ भने संगीत एसडी योगीले गरेका छन् । संगीत संयोजन (एरेन्ज) रिकेश गुरुङले गरेका हुन् । अर्जुन तिवारीको छायांकन रहेको गीतको भिडियोमा विजय र वर्षालाई देख्न सकिन्छ । उनीहरूलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । फिल्ममा उनीहरू श्रीमान्-श्रीमतीको भूमिकामा देखिएका छन् ।

प्रकु पाण्डेयको निर्देशनमा बनेको यस फिल्ममा विजय र वर्षासहित मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार लगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्ममा निर्देशक पाण्डेय स्वयंको कथा छ भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन् ।

आगामी बैशाख २५ गतेबाट प्रदर्शन हुन लागेको यस फिल्मको कार्यकारी निर्माता सागर ज्ञवाली हुन् । बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य श्रेष्ठ, पद्मावती गुरुङ र स्वीकृति बस्नेत सह-निर्माता रहेको फिल्ममा महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन, डिकेश खड्गीको ध्वनि मिश्रण तथा कृष्ण भण्डारीको रंग संयोजन छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x