
कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले निर्माण गरेको नयाँ फिल्म ‘रोल नं १’को पहिलो झलक (फर्स्टलुक पोस्टर) सार्वजनिक गरिएको छ । बुधबारदेखि सुरु माध्यमिक शिक्षा परीक्षा (एसईई) को अवसरमा निर्माताले फिल्मका दुई अर्थपूर्ण पोस्टर दर्शकमाझ ल्याएका हुन् ।
गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गतेबाट प्रदर्शन हुने यस फिल्मको बिहीबार सार्वजनिक दुईवटा पोस्टरले कथावस्तु, परिवेश र पात्रहरूको चरित्र चित्रणबारे महत्त्वपूर्ण प्रकाश पारेको छ ।
एउटा पोस्टरमा फिल्मका मुख्य कलाकारहरू मुकुन भुसाल, रेणु योगी र निर्भिक रेग्मी देखिएका छन् । मैलो र झुत्रोमुत्रो पहिरनमा रहेका मुकुन र रेणुको अनुहारमा गहिरो पीडा झल्किएको छ भने निर्भिक खुसी मुद्रामा देखिन्छन् । पोस्टरमार्फत निर्माण पक्षले उनीहरूको संघर्षपूर्ण ग्रामीण जीवनलाई दर्शाउने प्रयास गरेको देखिन्छ ।
अर्को पोस्टरमा भने मुकुनको पिठ्युँमा निर्भिक कापी र आफ्नो टाउको राखेर सुतेको भावनात्मक दृश्य छ । निर्भिकको अनुहारमा झल्किएको खुसी र मुकुनको निराश भावले एक बाबुको जिम्मेवारीलाई झल्काउँछ । फिल्मका दुई पोस्टर हेर्दा एक बालकको शैक्षिक सपना र त्यसलाई पूरा गर्न परिवारले गर्ने संघर्षको कथामा फिल्म आधारित रहेको देखिन्छ ।
जोन योञ्जनको निर्देशनमा तयार भएको यस फिल्ममा मुकुन, रेणु र निर्भिकसहित सुशांक मैनाली, सिर्जना अधिकारी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ लगायतको अभिनय रहेको छ । विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको फिल्मको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । फिल्ममा महेश दवाडीको लेखन छ भने छायांकन शिव राम श्रेष्ठको रहेको छ ।