
अभिनेता अनुपविक्रम शाही फिल्म ‘१२ गाउँ २’ मा अनुबन्धित भएका छन्। निर्देशक तथा निर्माता विराज भट्ट र अनुपविक्रमबीच मंगलबार औपचारिक लिखित सम्झौता सम्पन्न भएको हो।
सम्झौतापछि अनुपविक्रमले सामाजिक सञ्जालमार्फत विराज भट्टसँगको तस्वीर सेयर गर्दै लेखेका छन्, “केही नयाँ, ठूलो र उत्साहित बनाउने प्रोजेक्ट आउँदैछ।” उनले उक्त पोस्टमा विराजलाई समेत मेन्सन गरेका छन्।
फिल्ममा अनुपविक्रमको भूमिकाबारे आधिकारिक जानकारी सार्वजनिक नभए पनि स्रोतका अनुसार उनी शक्तिशाली खलपात्रको भूमिकामा देखिन सक्नेछन्। यसले फिल्ममा अभिनेता समीर भट्टसँगको टकरावलाई अझ रोचक बनाउने अनुमान गरिएको छ।
निर्माण टिमले फिल्मलाई ठूलो स्केलमा छायांकन गर्ने तयारी गरेको छ। यसका लागि च्यासलमा करिब ३० लाख रुपैयाँ लागतमा भव्य सेट निर्माण भइरहेको जनाइएको छ।
यता, मुख्य अभिनेता समीर भट्ट आफ्नो भूमिकाका लागि शारीरिक तयारीमा जुटेका छन्। फिल्म ‘१२ गाउँ २’ को छायांकन आगामी बैशाखको पहिलो सातादेखि सुरु गर्ने योजना रहेको छ।
यसैबीच, अनुपविक्रम शाहीले आफ्नो बलिउड डेब्यू फिल्म ‘मातृभूमि’ मार्फत अन्तर्राष्ट्रिय दर्शकमाझ पनि देखिने तयारीमा छन्, जहाँ उनी अभिनेता सलमान खानसँग स्क्रिन सेयर गरेका छन्। साथै, उनले भुटान–नेपाल संयुक्त प्रोजेक्ट ‘टनेल २६’ को छायांकन समेत सम्पन्न गरिसकेका छन्।