
अभिनेत्री निकिता चाण्डकले विश्वकै ठूलो ओभर द टप (ओटीटी) प्लेटफर्म नेटफ्लिक्समा डेब्यू गर्ने भएकी छन् । उनले हिन्दी वेब-सिरिज ‘ग्लोरी’ मार्फत नेटफ्लिक्सको यात्रा तय गरेकी हुन् ।
निकिताले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफू अभिनित पहिलो वेब-सिरिज ‘ग्लोरी’ आगामी मे १ (वैशाख १९ गते) देखि नेटफ्लिक्समा स्ट्रिमिङ हुन लागेको जानकारी दिएकी छन् ।
निकिताले लेखेकी छन्, “मेरो लागि यो ‘रेड सिजन’ जस्तो देखिँदैछ, सायद यो मेरो लागि ‘नेटफ्लिक्स सिजन’ भएकै कारण हो । मे १ देखि नेटफ्लिक्समा ‘ग्लोरी’ हेर्नुहोस् । यो मेरो पहिलो वेब-सिरिज हो ।”
निकिताको यो घोषणासँगै नेपाली कलाकार र उनका प्रशंसकहरूले उनलाई बधाइ तथा शुभकामना दिइरहेका छन् । लामो समयदेखि मुम्बईमा बसेर अभिनयमा संघर्ष गरिरहेकी निकिताका लागि यो ठूलो उपलब्धिको रूपमा हेरिएको छ ।
‘एटोमिक फिल्म्स’को ब्यानरमा निर्माण भएको ‘ग्लोरी’ एक हिन्दी वेब-सिरिज हो । उपलब्ध जानकारी अनुसार यो सिरिज ‘थ्रिलर र बदला’को कथामा आधारित छ । सिरिजमा निकिताको भूमिका कति लामो छ र उनले कुन चरित्र निर्वाह गरेकी छन् भन्ने कुरा भने अझै गोप्य राखिएको छ ।
सन् २०१७ की मिस नेपाल निकिता चाण्डकले सोही वर्ष विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड) मा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । मोडलिङ र सौन्दर्य प्रतियोगितामा सफल भएपछि उनले अभिनेता विराज भट्टको फिल्म ‘साङ्लो’ बाट नेपाली रजतपटमा डेब्यू गरेकी थिइन् ।
पछिल्ला केही वर्षदेखि उनी भारतको मुम्बईमा बसेर बलिउड र डिजिटल प्रोजेक्टहरूमा सक्रिय छिन् । यसअघि उनले बलिउड अभिनेता राजकुमार रावसँग एउटा विज्ञापन फिल्ममा काम गरिसकेकी छन् भने प्रख्यात निर्देशक सञ्जयलीला भन्सालीको प्रोजेक्टमा समेत काम गर्न लागेको चर्चा चलेको थियो ।
उनले अभिनय गरेको पछिल्लो नेपाली फिल्म ‘राजागञ्ज’ (गाउँ आएको बाटो फेम्ड निर्देशक दीपक रौनियारको निर्देशन) ले अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएको छ । यो फिल्म प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको थियो ।
नेपाली कलाकारहरू क्रमैसँग अन्तर्राष्ट्रिय प्लेटफर्ममा देखिनुले नेपाली कला क्षेत्रका लागि सुखद सन्देश दिएको छ ।