
कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले निर्माण गरेको फिल्म ‘रोल नं १’ हिजो शुक्रबारबाट देशभर प्रदर्शनमा आइसकेको छ । तर, फिल्मको ओपनिङ अपेक्षित हुन सकेन । यद्यपि, फिल्मलाई दर्शकीय प्रतिक्रिया सकारात्मक मिलेको छ । शुक्रबार काठमाडौंका विभिन्न हलमा फिल्म हेरेका दर्शकहरू भावविह्वल बनेका थिए ।
फिल्मले प्रायः दर्शकलाई ‘नोस्टाल्जिक’ बनाएको देखिन्छ । फिल्म हेर्दा पुनः बाल्यकालमा फर्किएको र आफ्नै संघर्ष पात्रले बाँचेको अनुभूति दर्शकले गरेका छन् । कतिले सामाजिक सञ्जाल र मिडियामार्फत यो फिल्म हेरेर शिक्षा नीति बदल्न सरकारलाई सुझाव दिएका छन् । सन्तानलाई पढाइमा दबाब दिने अभिभावकले ‘रोल नं १’ अनिवार्य हेर्नुपर्ने पनि दर्शकहरूको प्रतिक्रिया छ ।
फिल्मले उत्साहजनक प्रतिक्रिया पाएपछि निर्माता पौडेल खुसी देखिएका छन् । अहिले आफूले ‘पूर्ण बहादुरको सारङ्गी’ चल्दा आएको प्रतिक्रियाको झल्को महसुस गरिरहेको उनी बताउँछन् । स्कुले शिक्षा, त्यसको महत्त्व र अहिलेको मूल्यांकन विधिले बालबालिकामा परिरहेको असरको कथा र अभिभावकले दिने दबाब तथा त्यसको प्रभावलाई दशर्कले मन पराएको उनले बताए ।
उनी भन्छन्, ‘फिल्म हेरेपछि दर्शकहरूले विभिन्न माध्यमबाट दिनुभएको प्रतिक्रियाले मन नै फुरुङ्ग भएको छ । दर्शकले आफ्नै कथा पर्दामा आएको अनुभूति गर्नुभएको छ, जुन हाम्रो लागि ठूलो उपलब्धि हो । यस्तै प्रतिक्रियाले ‘पूर्ण बहादुरको सारङ्गी’ ऐतिहासिक फिल्म बनेको थियो । त्यही बाटो ‘रोल नं १’ले पनि समाउनेमा आशावादी छु ।’
जोन योञ्जनको निर्देशन रहेको यस फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु नाथ योगी, एवन राज उप्रेती, सिर्जना अधिकारी, निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठलगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ । फिल्मले समाजमा आफ्नो इज्जतका लागि अभिभावकले सन्तानलाई दिने पढाइको दबाब र त्यसले पार्ने प्रभावको कथा प्रस्तुत गरेको छ ।