दयाहाङ र मिरुनाको जोडी पुनः पर्दामा, फिल्म ‘रातो घेरा’ निर्माण घोषणा

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरूना मगर पुनः एकपटक ठूलो पर्दामा सहकार्य गर्ने भएका छन्।
‘जारी’, ‘कबड्डी ४’ लगायतका फिल्ममार्फत दर्शकको प्रशंसा बटुलेको यो चर्चित जोडी अब नयाँ फिल्म ‘रातो घेरा’ (द रेड सर्कल)’ मा एकसाथ देखिने भएको हो।
विश्राम फिल्मस् प्रा. लि.को निर्माणमा बन्न लागेको फिल्म अनिल बुढा मगरले निर्देशन गर्नेछन्।
निर्माण टिमका अनुसार फिल्मको कथा सामाजिक तथा भावनात्मक पक्षमा आधारित हुनेछ, जसले दर्शकलाई मनोरञ्जनसँगै गहिरो सन्देश पनि दिने अपेक्षा निर्माण पक्षले जनाएको छ।
दयाहाङ र मिरुनाको जोडी पछिल्लो समय नेपाली चलचित्र उद्योगमा लोकप्रिय अनस्क्रिन जोडीमध्ये एक मानिन्छ।
‘जारी’ मा उनीहरूको दमदार अभिनय, प्राकृतिक प्रस्तुति र उत्कृष्ट केमेस्ट्रीले बक्स अफिसमा ठूलो सफलता हासिल गर्नुका साथै दर्शक तथा समीक्षक दुवैबाट अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो। ‘कबड्डी ४’ लगायतमा पनि यी दुईको काम निकै रुचाइएको थियो।
निर्माण पक्षका अनुसार ‘रातो घेरा’ लाई भव्य, कथात्मक रूपमा सशक्त र प्राविधिक रूपमा उच्च स्तरको बनाउन विशेष ध्यान दिइएको छ। साथै अनुभवी कलाकार तथा प्राविधिक टिमको सहभागिताले फिल्मलाई थप प्रभावशाली बनाउने विश्वास गरिएको छ।
फिल्ममा रहने अन्य कलाकार र प्राविधिक टिमको विवरण क्रमशः सार्वजनिक गरिने पनि जनाइएको छ।
फिल्मको वितरण जिम्मेवारी काफीया फिल्म्स प्रा. लि. का गोविन्द शाहीले लिएका छन्।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।