
गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ले आज शनिबार प्रदर्शनको ५१औँ दिन पुरा गरेको छ । षट्कोण आर्टसको ब्यानरमा निर्माण भएको फिल्मले क्युएफएक्स अन्तर्गत भक्तपुर, सिभिल मल, सिटी स्क्वायर, कमलपोखरीको बिग मुभिज, सुन्धाराको सिडिसी सिनेमाज, सितापाइलाको सिके सिमाज, न्यूरोडको रञ्जना सिनेप्लेक्स, फ्रेन्ड्स सिनेमाज बुटवल र इलाम, नेपालगञ्जको सिने रोयल प्रदर्शनको ५१ औँ दिन पुरा गरेको छ ।
फिल्मका कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराईले फिल्मले पाएको सफलतालाई दर्शकसँग साट्न दिनभर विभिन्न हलमा पुगेर दर्शक भेटघाट गर्ने बताए । उनले भने, ‘षट्कोण आर्टस्ले निर्माण गरेको अघिल्ला फिल्म झैँ यसपटक पनि माया पाएका छौँ, यसलाई धन्यवादमा व्यक्त गर्ने शब्द हामीसँग छैन । आज शनिवार दिनभर नै हामी विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट गरिरहेका छौँ ।’
उनले नेपालमा ५१ औँ दिन पुरा गरेकोले डायस्पोरा प्रदर्शनको सुरुआत गरेको जानकारी दिए । ‘अब फिल्म नेपालसँगै विदेशी बजारमा समेत प्रदर्शन हुँदैछ, हामी विभिन्न देशको जानकारी छिटै दिनेछौं । अहिले युरोपका विभिन्न देशमा प्रदर्शन भइरहेको फिल्म क्रमशः जापान, अस्ट्रेलिया र अमेरिकामा प्रदर्शन हुँदैछ’, कार्यकारी निर्माता भट्टराईले भने ।
यस वर्ष विसं २०८३ मा हालसम्म प्रदर्शनमा आएका नेपाली फिल्महरूमध्ये ‘लालीबजार’ व्यावसायिक रूपमा सबैभन्दा सफल फिल्ममध्ये एक बनेको छ । घरेलु बक्स अफिसमा ९ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरिसकेको फिल्मको यात्रा अहिले १० करोड क्लबतर्फ उन्मुख छ । फिल्मको निर्देशन यम थापाले गरेका हुन् । यसअघि षट्कोण आट्र्सले ‘टल्कजंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’जस्ता सफल फिल्म निर्माण गरिसकेको छ ।
फिल्ममा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, वीरबल चौधरीलगायत कलाकारको अभिनय रहेको छ।
यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले अभिनयमा डेब्यु गरेका छन् । विशाल रङ्गमञ्चमा सक्रिय कलाकार हुन् भने प्रशंसा जेन–जी पुस्ताकी अभिनेत्रीका रूपमा परिचित छिन् । फिल्मको पटकथा र संवाद यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा लेखेका हुन्। फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन्।