News

‘पार्वती’को पहिलो दिनको कमाइ अर्थमन्त्रीलाई हस्तान्तरण, थप ५ प्रतिशत दिने घोषणा

image 22

फिल्म ‘पार्वती’ टिमले भोटेकोशी बाढीपीडितका लागि ११ लाख ३ हजार २७० रूपैयाँ सहयोग गरेको छ। फिल्मको पहिलो दिनको घरेलु बक्सअफिस कमाइबाट निर्माताको भागमा आएको उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

निर्देशक तथा अभिनेत्री नीता ढुंगाना, निर्माता हरिहर अधिकारी, कार्यकारी निर्माता शंकर पाण्डे, वितरक करण श्रेष्ठ तथा पत्रकार प्रकाश सुवेदीले सोमबार अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत रकम हस्तान्तरण गरेका हुन्।

शुक्रबार रिलिज ‘पार्वती’ ले पहिलो दिन देशभरबाट २५ लाख ९३ हजार रूपैयाँ ग्रस कमाएको थियो। त्यसमध्ये निर्माताको भागमा आएको ११ लाख ३ हजार २७० रूपैयाँ कोषमा प्रदान गरिएको हो। निर्माण पक्षले फिल्म प्रदर्शनमा रहेसम्म निर्माताको भागमा आउने आम्दानीको ५ प्रतिशत बाढीपीडितका लागि सहयोग गर्ने निर्णयसमेत गरेको छ।

निर्देशक नीता ढुंगानाले विपद्मा परेका पीडितलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताइन्। निर्माता हरिहर अधिकारीले पहिलो दिनको कमाइबाहेक कोषको क्यूआरमार्फत छुट्टै रकमसमेत सहयोग गरिएको जानकारी दिए। फिल्मका अभिनेता तथा बालगायक अशोक दर्जीले पनि २५ हजार रुपैयाँ कोषमा जम्मा गरेका छन्।

भोटेकोशी बाढीले ठूलो जनधन तथा भौतिक क्षति गरेको समयमा प्रदर्शनमा आएको ‘पार्वती’ले दोस्रो दिन शनिबार करिब ४२ लाख रूपैयाँ ग्रस कमाएको वितरक करण श्रेष्ठले जानकारी दिए।

आइतबार र सोमबारको कमाइ भने सार्वजनिक गरिएको छैन।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments