विदेशी फिल्मको प्रभाव घटाउने प्रयासमा छौं : निखिल उप्रेती
अभिनेता तथा निर्देशक निखिल उप्रेतीले नेपाली फिल्ममा विदेशी फिल्मको प्रभाव कम गर्दै नेपाली दर्शकलाई आफ्नै फिल्ममार्फत अन्तर्राष्ट्रिय स्तरको स्वाद र प्रस्तुति दिने प्रयासमा आफूहरू रहेको बताएका छन्। यही प्रयासस्वरूप आफ्नो निर्देशन तथा अभिनय रहेको फिल्म ‘आचार्य’ निर्माण गरिएको उनको भनाइ छ।
विदेशी फिल्मलाई नेपालमा प्रतिबन्ध लगाउन वा प्रदर्शन हुन नदिन नसकिने भन्दै निखिलले खुला बजारमा नेपाली फिल्मले विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्नुपर्ने बताए। विदेशी फिल्म हेर्ने दर्शकलाई रोक्नेभन्दा पनि त्यही स्तरको प्रविधि, प्रस्तुति र विषयवस्तु नेपाली फिल्ममार्फत दिन सके बिस्तारै विदेशी फिल्मको प्रभाव घटाउन सकिने उनको धारणा छ।
‘हाम्रो देशमा खुला बजार छ। विश्वभरिका फिल्महरू हामीकहाँ आउँछन्। धेरै महँगा फिल्महरू आउँछन् र ती हेर्ने स्वतन्त्रता पनि दर्शकलाई छ,’ निखिलले भने, ‘तर हामी गरिब छौँ भनेर मेहनतमा गरिब नहोऔँ।’
उनका अनुसार ‘आचार्य’को कथा नेपाली भए पनि यसको प्रस्तुति अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने प्रयास गरिएको छ। नेपाली कथालाई नेपालीपनमै राखेर आधुनिक प्रविधि र फरक सिनेमाटिक प्रस्तुतिमार्फत दर्शकमाझ लैजाने उद्देश्यले फिल्म निर्माण गरिएको उनले बताए।
‘कथा हाम्रो हो, कथावस्तु यहीँबाट सुरु हुन्छ। तर यसको प्रस्तुति फरक हो,’ उनले भने।
निखिलले नेपाली फिल्ममा विदेशी प्रभाव कम गर्न फिल्मकर्मीले मात्र नभई आगामी पुस्ताले पनि निरन्तर प्रयास गर्नुपर्ने बताए। त्यसका लागि नेपाली दर्शकले आफ्ना फिल्मप्रति माया र विश्वास देखाउनुपर्ने उनको भनाइ छ। तर दर्शकसँग माया माग्नुअघि फिल्मकर्मीले दर्शकले माया गर्न लायक काम गर्नुपर्ने उनले स्पष्ट पारे।
‘हाम्रो मेहनत र कोसिसलाई बुझिदिनुभयो भने पनि ठूलो फरक आउँछ,’ उनले भने, ‘तर दर्शकले माया गर्नु भनेर मात्रै हुँदैन। हामी मायाको लायक पनि हुनुपर्छ।’
‘आचार्य’लाई आफ्नो करियरकै प्राविधिक रूपमा महत्वाकांक्षी फिल्मका रूपमा प्रस्तुत गर्दै निखिलले यसमा प्राविधिक पक्षलाई विशेष प्राथमिकता दिइएको बताए। उनका अनुसार फिल्ममा एनामर्फिक लेन्स प्रयोग गरिएको छ भने क्यामेरा वर्क, ब्लकिङ, स्टन्ट, ब्याकग्राउन्ड म्युजिक, साउन्ड इफेक्ट, एसएफएक्स तथा ग्राफिक्समा पनि विशेष ध्यान दिइएको छ।
‘टेक्निकली हेर्दा त फर्स्टमै छ,’ आफ्नो समग्र फिल्म करियरमा ‘आचार्य’को स्थानबारे उनले भने, ‘एनामर्फिक लेन्सले एउटा सिनेमा फिल गराउँछ। यसले सिनेमाटिक फिल गराउँछ।’
फिल्मको बीजीएम, एसएफएक्सलगायत केही प्राविधिक काम भारतमा गरिएको उनले बताए। नेपाल र भारतमा छायांकन गरिएको फिल्ममा नेपालीसँगै भारतीय कलाकारलाई पनि समेटिएको छ। भारतीय कलाकार राख्नुको उद्देश्य भारतीय बजारमा फिल्म बेच्नु मात्र नभई कथाको मागअनुसार पात्र चयन गरिएको निखिलको भनाइ छ।
‘भारतको विषयवस्तुमा भारतकै कलाकार, नेपालको विषयवस्तुमा नेपालकै कलाकार,’ उनले भने।
‘आचार्य’ निर्माणका क्रममा नेपालमा एक्सन फिल्म खिच्दा सुरक्षा र विभिन्न स्थानमा सुटिङ अनुमति लिनुपर्ने प्रक्रियाले आफूलाई चुनौती दिएको निखिलले बताए। एक्सन दृश्यमा आफूले वास्तविक स्टन्ट गर्ने भएकाले सुरक्षा पूर्वाधारको अभावमा जोखिम उठाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ।
‘यहाँ सेफ्टीको चिज छैन। अहिले पनि हामीले काम गर्दा ठूलो रिस्क उठाउनुपर्ने हुन्छ। म रियल स्टन्ट गरिरहेको हुन्छु,’ उनले भने।
कलाकारलाई सामान्य चोट लाग्दा समेत त्यसले फिल्मको समय र बजेटमा प्रत्यक्ष प्रभाव पार्ने उनले बताए। ‘मलाई सानो चोट लागेर मैले रेस्ट गर्नुपर्यो भने यहाँ प्रोडक्सनवाइज त्यसको कस्ट बढ्दै जान्छ। शारीरिक चोट मात्रै होइन, यसले फाइनान्सियल चोट पनि पुर्याउँछ,’ उनले भने।
एयरपोर्ट, सडक, रंगशालालगायत सार्वजनिक तथा संवेदनशील स्थानमा फिल्म छायांकनका लागि अनुमति लिन समस्या हुने गरेको पनि निखिलले बताए। कतिपय दृश्य नेपालमा खिच्न नपाएपछि भारतमा गएर छायांकन गर्नुपरेको उनको भनाइ छ।
‘जुन चिजमा यहाँ अड्चन हुन्थ्यो, त्यहाँ चाहिँ त्यही चिज सजिलै भयो,’ उनले भने।
फिल्म उद्योगलाई अन्य उद्योगसरह हेरेर सम्बन्धित निकायले आवश्यक सहजीकरण गर्नुपर्ने निखिलको धारणा छ। फिल्म निर्माणबाट राज्यले करसमेत प्राप्त गर्ने भएकाले नेपाली फिल्मलाई आवश्यक स्थान, सुरक्षा र सुविधा उपलब्ध गराउने वातावरण बन्नुपर्ने उनले बताए। ‘सुरक्षाको कारण छ भने सुरक्षा के गर्दा हुन्छ, त्यो गर्नुपर्छ। तर यो पनि त उद्योग हो। हामी पनि ट्याक्स तिर्छौँ,’ उनले भने।
‘आचार्य’ बनाउने सोच भने निखिलमा धेरै वर्षअघिदेखि नै रहेको थियो। करिब दुई दशकअघि निर्देशन गरेको फिल्म ‘सावधान’देखि नै प्राविधिक रूपमा फरक फिल्म बनाउने सोच बनाएको उनले बताए। त्यतिबेला डिजिटल प्रविधि नेपालमा भर्खर सुरु हुँदै गरेको र पोस्ट प्रोडक्सनका लागि अस्ट्रेलियासम्म जानुपरेको उनको भनाइ छ। ‘सावधान’मा भिजुअल इफेक्ट्स र थ्रीडीको समेत प्रयोग गरिएको उनले बताए।
‘त्यतिबेला मैले जे गर्न नसकेको थिएँ, अर्कोचोटि बनाउँदा टेक्नो मुभी नै बनाउँछु भन्ने सोच थियो,’ उनले भने।
तर त्यस्तो फिल्म बनाउन पैसा मात्र पर्याप्त नभएको उनको अनुभव छ। आफूले बनाउन लागेको फिल्म बुझ्ने निर्माता र उपयुक्त टिम आवश्यक पर्ने भएकाले ‘आचार्य’लाई पर्दामा ल्याउन लामो समय लागेको उनले बताए।
‘फाइनान्स मात्रै होइन, प्रोड्युसर पनि। प्रोड्युसर मात्रै होइन, आफूले के फिल्म बनाउन लागेको हो भन्ने बुझेको व्यक्ति पनि चाहिन्छ,’ उनले भने।
‘आचार्य’ निर्माणमा करिब तीनदेखि चार करोड रुपैयाँसम्म खर्च भएको निखिलले बताएका छन्। निर्माता कृष्ण भट्टराईले आफूलाई विश्वास गरेर लगानी गरेको भन्दै उनले आभार व्यक्त गरे। आफूले कुनै निर्मातालाई रंगीचंगी कुरा गरेर लगानी गर्न कन्भिन्स नगर्ने र फिल्मको सम्भावना तथा जोखिमबारे व्यावहारिक रूपमा कुरा गर्ने गरेको उनले बताए।
फिल्मको ट्रेलर सार्वजनिक भएपछि भारतीय सामाजिक सञ्जालमा समेत चर्चा भएको र भारतीय तथा दक्षिण भारतीय डिस्ट्रिब्युटरहरूले आफूसँग सम्पर्क गरेको निखिलको दाबी छ। केही डिस्ट्रिब्युटरले फिल्मको प्रिभ्यु हेर्नसमेत प्रस्ताव गरेको उनले बताए। नेपाली फिल्म आफ्नो बजारको नजरसम्म पुगेको भन्दै उनीहरूले चासो देखाएको निखिलले सुनाए।
‘आचार्य’ले नेपाली बजारसँगै नयाँ बजार र वितरणका बाटो खोल्न सक्ने उनको विश्वास छ। तर त्यसका लागि फिल्मले एउटा निश्चित स्तर कायम गर्नुपर्ने उनको भनाइ छ।
अब ‘आचार्य’ दर्शकमाझ पुग्ने तयारीमा छ। नेपाली फिल्मलाई विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउन आफूले गरेको प्रयासलाई दर्शकले हलसम्म पुगेर हेरेर साथ दिनुपर्ने निखिलको आग्रह छ। दर्शकको साथ र प्रतिक्रियाले नेपाली फिल्ममा नयाँ प्रयोग तथा प्राविधिक लगानीका लागि पनि हौसला मिल्ने उनको विश्वास छ।
‘आचार्य’ असोज ९ गते शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ। फिल्ममा निखिल उप्रेतीसँगै पूर्णिका सिजापति, प्रमोद अग्रहरि तथा भारतीय कलाकारहरूको अभिनय रहेको छ।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।