आजदेखि प्रदर्शनमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’
रामबाबु गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ आजदेखि प्रदर्शनमा आएको छ । आज फ्राइडे रिलिजको अवसरमा यो फिल्म सिनेमाघरमा आएको हो ।
यसअघि दसैँको अवसरमा तीन नयाँ नेपाली फिल्म ‘आबाट आमा २, ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ पहिलैदेखि प्रदर्शनमा रहेका छन् । आजदेखि भने ‘कबड्डी ५’ थपिएको छ । यो ‘कबड्डी’को पौँचौं श्रृंखला हो ।
नेपाली चलचित्र बजारमा इतिहास रच्दै ‘कबड्डी’ का अघिल्ला चारवटै शृङ्खला बक्सअफिसमा सुपहिट र ब्लकबस्टर साबित भइसकेका छन् । ‘कबड्डी ५’ मा भने काजीको विवाहपछिको व्यवहारिक जीवनको वरपर कथा रहने यसको टिजर, ट्रेलरले संकेत दिएको छ ।
देशभर २२० भन्दा बढी शो प्राप्त गरेको फिल्म ‘कबड्डी ५’ ले आक्रामक ओपनिङ गर्ने संकेत देखाएको छ । फिल्मको अग्रिम बुकिङमै एक सयभन्दा बढी शो हाउसफुल भइसकेका छन् । विशेषगरी पूर्वका धरान, इटहरी, दमक र विर्तामोडमा फिल्मको बुकिङ आक्रामक देखिएको छ । काठमाडौं, चितवन, नेपालगन्ज, बुटवल, पोखरा, दाङ, दमौली, कावासोतीलगायतका सहरमा पनि ठूलो संख्यामा फिल्मका टिकट बिक्री भएका छन् ।
देशभरको टिकट बुकिङको अवस्था हेर्दा फिल्मले वर्षकै सबैभन्दा ठूलो ओपनिङ पाउने सम्भावना देखिएको छ । अग्रिम बुकिङमै ५० लाखमाथिका व्यापार गरिसकेको फिल्मले डेढ करोड हाराहारीको ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । ‘वर्ड अफ माउथ’ बलियो मिलेको खण्डमा भोलि शनिबार फिल्मले दुई करोडभन्दा बढीको व्यापार गर्न सक्ने देखिन्छ ।
बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको यो फिल्ममा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंको अभिनय रहेको छ ।
फिल्ममा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)ले लगानी गरेका छन् ।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।