काठमाडौं । यो वर्ष गीत संगीत क्षेत्रले भने राम्रै चर्चा पायो । कोरोना महामारीका कारण चलचित्र क्षेत्र चलायमान हुन नसकिरहेका बेला गीत संगीतमा भने लाखौंको लगानी भित्रियो । केही कलाकारले राम्रै नाम र दाम पनि कमाए । जसमा गायक प्रकाश सपुत, महेश काफ्ले, प्रकाश दुतराज, गायिका समीक्षा अधिकारी, एलिना चौहान, अन्जु पन्त, रचना रिमाललगायतका गायक गायिका चर्चामा रहे ।
प्रकाश सपुतको गीत ‘पीर’ ले खुबै चर्चा पायो । द्वन्द्वकालीन घटनामा आधारित भएर बनाइएको गीत राजनीति वृत्तबाट चर्चामा रहेको थियो । माओवादी नेता तथा कार्यकर्ताहरूले विरोध जनाएपछि उनले विवादित यौनकर्मीको दृश्य हटाउँदै पुनः भिडियो अपलोड गर्नु परेकाे थियाे ।
यो वर्ष अभिनेत्री प्रिंयंका कार्की तथा ऋचा शर्मा आमा बने । प्रियंकाले छोरीलाई जन्म दिइन् भने ऋचाले छोरा पाइन् । चर्चित हास्य कलाकार मनोज गजुरेलले दोस्रो बिहेसमेत गरे ।
जितु नेपालको मुन्द्रेको कमेडी क्लब बन्द हुन पुग्यो । उक्त शोका कलाकार उमेश राई उर्फ फुलन्देकी आमाले शो छोडेपछि उनी कार्यक्रम नै बन्द गर्न पुगेको थिए । फुलन्देकी आमा यतिबेला अर्को शो कमेडी विथ स्टारमा छिन् ।