काठमाडौं । चर्चित र्यापर सुदीप भण्डारी (जी-बब) ले आफूलाई आमाबुवाबाट स्वतन्त्रता चाहिएको बताएका छन्।
आमाबुवाले टर्चर दिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका उनले आइतवार पत्रकार सम्मेलन गर्दै त्यही कुरा दोहोर्याए।
‘मैले बुवाआमाविरुद्ध मुद्दा हालेको होइन। पत्रकारहरु पनि मुद्दा भनेर लेखिदिन्छन्’, उनले भने, ‘निवेदन न क्या निवेदन, निवेदन हालेको हो। मलाई बुवाआमाको टोकाइबाट स्वतन्त्रता चाहिएकाले।’
जी-बबविरुद्ध आमाबुवाले पनि उजुरी दिएका थिए। तर प्रशासनले महानगरीय प्रहरी परिसरलाई दुवै पक्षलाई झिकाएर छलफल गर्न निर्देशन दियो।
काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीले शुक्रवार दुवै पक्षलाई राखेर छलफल गरिए पनि सहमति नभएको जानकारी दिएका थिए।
विवादको समाधान नभएपछि जी-बबले आइतवार पत्रकार सम्मेलन गरेका छन्। जहाँ उनले भने, ‘खुट्टा लागेको छोरा हुँ, आमा–बुवाबाट स्वतन्त्रता चाहन्छु’, उनले भने, ‘मलाई मेरो स्वतन्त्रता चाहियो। म स्वतन्त्रपूर्वक बस्न पाउनुपर्यो।’
उनले आफूले जे गरे पनि बुवाआमाले टोकिरहन नहुने बताए। ‘मलाई मेरो काम खुसीले गर्दा मेरा बाबुआमाले टोक्नु भएन। काम गर्न दिनु पर्यो’, उनले भने, ‘मलाई बाबुआमाले बारम्बार पुनर्स्थापना केन्द्र हालिदिएको हो। पाँच पटक त म बसेर आएको हो।’
उनले आफूले बुवाआमाविरुद्ध मुद्दा नभइ निवेदन मात्रै हालेको बताए। ‘मैले कपीमा लेखेर निवेदन दिएको हो। निवेदन क्या निवेदन’, उनले भने, ‘तर आमा र बुबलाई जेल हाल्न होइन।’
उनले आफू जवान भइसकेको भन्दै अब खुट्टा लागेकाले बाबुआमाले रोक्न नहुने बताए। ‘खुट्टा लागेको छोरो हो म’, उनले भने, ‘जहाँ मन लाग्यो त्यहाँ जान पाउनुपर्छ भनेको हो। मुद्दा होइन, निवेदन हो। अब म बुवाआमासँग बस्न सक्दिनँ, मैले खोजेको यही हो।’