काठमाडौं । चलचित्र ‘प्रसाद–२’ छायांकन नहुँदै रोकिएको छ । १७ दिन अगाडि कलाकारसहित सम्पूर्ण छायांकन युनिट पोखरा पुगे पनि चलचित्रको छायांकन सुरु भएको थिएन ।
पारिश्रमिक र चलचित्रको भिजुअल ल्याङवेजलाई लिएर असमजदारी भएपछि सिनेमाको छायांकन सुरु नहुँदै रोकिएको हो ।
चलचित्रका मुख्य कलाकार विपीन कार्कीले पटक–पटक सम्झौता अनुसार पारिश्रमिक माग गरे पनि निर्माण पक्षले उपलब्ध नगराएपछि उनी पछि हटेका हुन् ।
बुधबारदेखि कास्कीको ल्वाङ गाउँबाट छायांकन सुरु हुन लागेको चलचित्रको सेटबाटै अभिनेता विपीन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ बाहिरिएर काठमाडौं आएका छन्। चलचित्रका निर्देशक सुदर्शन थापासहितको टोली पनि बिहीबार काठमाडौं फर्किने बताइएको छ।
चलचित्रसँग सम्बन्धितहरुले कलाकारहरुबीच रचनात्मक असमझदारीका कारण छायांकन स्थगित भएको बताइरहेका छन्।