Todays Date: २०८३ जेष्ठ १२

‘झिँगे दाउ’ को बक्स अफिस कलेक्सन २ करोड पार,‘कबड्डी ४’ पछि सर्वाधिक कमाइ गर्ने फिल्म

काठमाडौं । भदौ १७ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म झिँगे दाउ शुक्रबारदेखि दोस्रो हप्तामा प्रवेश गरेको छ। ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्म दोस्रो हप्तामा पनि हाउस फुल दर्शकका साथ प्रदर्शन भइरहेको छ।

फिल्मले शुक्रबार र शनिबारको व्यापार पनि जोडेर २ करोड माथिको कारोबार गरेको छ। योसँगै जेठ दोस्रो हप्ता प्रदर्शनमा आएको कबड्डी ४ पछि सबैभन्दा बढी कमाइ गर्ने फिल्म पनि बनेको छ।

निर्माण टोलीका अनुसार पहिलो हप्ता डेढ करोडमाथिको कारोबार गरेको फिल्मले ९ दिनमा २ करोडको आँकडा पार गरेको हो।

कबड्डी ४ पछि कुनै पनि नेपाली फिल्मले सन्तोषजनक व्यापार गर्न सकेका थिएनन्। अब असोज पहिलो हप्तासम्म कुनै पनि फिल्म प्रदर्शनको तयारीमा नरहेकाले झिँगे दाउको बक्स अफिस कलेक्सन अझै बढ्ने देखिन्छ।

भीमनिधि तिवारीको कथामा आधारित फिल्मको पटकथा प्रदीप भारद्वाजले लेखेका हुन्। पारिवारिक कथामा आधारित फिल्मको वर्ड अफ माउथ राम्रो भएपछि दर्शकमा लगातार वृद्धि आएको हो। शुक्रबारदेखि प्रदर्शनमा आएको बहुप्रतिक्षित बलिउड फिल्म ब्रह्मास्त्रले पनि फिल्मलाई खासै असर गरेको छैन।

देउजा झिँगेदाउमार्फत ७ वर्षपछि निर्देशनमा फर्किएका हुन्। फिल्ममा हिउँवाला गौतम, मुकुन भुषाल, कुशल विष्ट, केकी अधिकारी, आँचल शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x