काठमाडौं । ‘प्रेम गीत ३’ लिक भएको सन्दर्भ चलिरहँदा प्रदीप खड्काको यसअघि प्रदर्शन भएको चलचित्र ‘प्रकाश’ पनि टेलिग्राममा लिक भएको छ। हलमा भिडियो खिचेर उक्त फिल्म टेलिग्राममार्फत सार्वजनिक गरिएको हो।
सार्वजनिक १ घण्टा ५४ मिनेट २७ सेकेण्ड लामो भिडियोमा खिच्ने दर्शकको आवाज पनि सुनिएको छ।
चलचित्रमा प्रदीप खड्कासँगै दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिानय रहेको छ ।
कर्णालीको परिवेशका पहिरन, संवाद र शैलीमा कलाकारहरूलाई जीवन्त देखाइएको छ । सरकारी स्कुलको जागिर खानका लागि एक युवाले गर्ने संघर्षलाई चलचित्रमार्फत देखाइएको छ ।
विकास सुवेदीको लेखनमा तयार भएको चलचित्रलाई ‘प्रसाद’ फेम्ड निर्देशक दिनेश राउतले निर्देशन गरेका हुन् ।
बिनिस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, ताराप्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ ।
महेन्द्र अधिकारीको लगानीमा यो चलचित्र निर्माण भएको हो ।