काठमाडौं । निर्देशक विनोद पौडेलले नयाँ फिल्म ‘रबर सिटी’को निर्देशन गर्ने भएका छन् । दुई वर्षअघि उनले निर्देशन गरेको फिल्म ‘बुलबुल’ले सर्वाधिक चर्चा पाएको थियो । यो फिल्मलाई अविरल थापाले निर्माण गर्नेछन् ।
फिल्म ‘रबर सिटी’ फेब्रुअरी १५ बाट छायांकन हुने भएको छ । चलचित्रको सम्पूर्ण छायांकन अमेरिकामा हुनेछ ।
बिनोद पौडेलले निर्देशन गर्ने चलचित्र ‘रबर सिटी’का लागि मुख्य कलाकार अनुबन्द भइसकेका छन् । हाल अमेरिका रहेका निर्देशक पौडेलले शुशांक मैनालीलाई मुख्य भूमिकामा अनुबन्द गरेका छन् ।
नायिका अरुणिमा लम्सालका बुवा र आमालाई अनुबन्द भइसकेका छन् । अरुणा कार्कीको पनि यो चलचित्रमा अभिनय रहने निर्माता अविरल थापाले जानकारी दिए ।
भुटानबाट नेपाल आएर अमेरिका पुगेका भुटानी शरणार्थीको कथामा बन्ने चलचित्र बार, चर्च, रेष्टुरेन्टमा छायांकन गर्ने गरिने आयोजकले जनाएको छ ।
अंकित पौडेलले खिच्ने चलचित्र सन् २०२२ सम्म तयार हुने निर्देशक पौडेलले जानकारी दिए ।
१३ वर्ष अगाडिबाटै नेपाल हुँदै तेस्रो मुलुक पुगेका भुटानी शरर्णार्थीको कथामा बन्ने चलचित्रमा अविरल थापा, भक्त रिजाल, यातिन पर्खानी, किर्तना बास्कोटा र राजु पौडेलको लगानी रहनेछ ।
चलचित्रमा ६ करोड रुपैयाँभन्दा माथि लगानी लाग्ने विनोद बताउँछन् ।
चलचित्रको कथा पनि निर्देशक स्वयंले लेखेका हुन् । उनले निर्देशन गरेको चलचित्र ‘बुलबुल’ले राम्रो समीक्षा पाएको थियो भने ‘ओस्कार’का लागि नेपालबाट सिफारिसमा परेको थियो ।