‘एक्स नाइन’ अनिश्चित बनेपछि अनमोलले साइन गरे ‘हनी बनी’
काठमाडौं । सुटिङमा जाने भनेर लामो समय तयारी गरेको ‘एक्स नाइन’ अनिश्चित बने पछि फ्लोरमा जाने फिल्मको खोजीमा रहेका अनमोल केसीले ‘हनी बनी’ साइन गरेका छन् ।
दिवाकरले यो चलचित्र निर्माणको घोषणा केही समय अगाडि गरेपनि नायक र नायिकाको खोजी भने गरिरहेका थिए । उनले केही दिनअघि मात्र अनमोलसँग लिखित सम्झौता गरेका हुन् ।
कुनै पनि चलचित्र साइन गर्नका लागि लामो समय लगाउने अनमोलले ‘हनी बनी’ भने दुई दिन कथा पढेर साइन गरेका थिए ।
दिवाकरका अनुसार चलचित्रको कथा निक्कै मन पराएपछि अनमोलले लामो समय नसोचेका हुन् । यो चलचित्रको छायांकन मार्च महिनाबाट लण्डनमा हुनेछ । चलचित्र ‘एक्स ९’का लागि जुँगा पालेर, तौल समेत बढाएका अनमोलले चलचित्रको छायांकन अनिश्चित बनेपछि आफ्नो लुक्स परिवर्तन गरिसकेका छन् ।
एबी इन्टरनेसनलको प्रस्तुतिमा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिटेडको सहकार्यमा यो चलचित्र बन्न लागेको हो । चलचित्रमा अमित बस्नेत, अजितकुमार थापा र परी रानाको लगानी रहनेछ । चलचित्रका कार्यकारी निर्माता अंकित गौतम हुन् ।
‘एक्स नाइन’का लागि भनेर अनमोलले जनवरी फ्रेब्रुअरीको मिति छुट्याएका थिए । फिल्मकै लागि भनेर अनमोलले ज्यान पनि बनाएका थिए । तर कारण स्पष्ट छैन तर यो फिल्म नबन्ने हल्ला चल्यो ।
यसपछि घरबाटै तीनवटा फिल्म घोषणा गरेका अनमोलसँग घरकै फिल्म गर्ने कि बाहिरका फिल्म गर्ने विकल्प थिए, उनले फेरि एक पटक घरको हैन बाहिरको फिल्म रोज्ने निर्णय गरेका छन् । निर्माण टिम र अनमोलबीच तीन दिनअघि सम्झौता सम्पन्न भइसकेको छ ।
तर निर्माण टिमले भ्यालेन्टाइनको दिन पोस्टर र टिजर सार्वजनिक गर्ने लक्ष्यसहित अनमोलले फिल्म साइन गरेको कुरा सार्वजनिक गरेको छैन । फिल्ममा अनमोलको जोडी को रहने भन्ने चाहिँ टुंगो गरेको छैन । फिल्मको सुटिङ मार्चमा सुरु हुनेछ ।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।