पल शाह ‘फरार’ रहेकोबारे ‘ए मेरो हजुर २’का निर्देशक थापासँग प्रहरीको सोधपुछ
काठमाडौं । जबरजस्ती करणीमा जाहेरी परेपछि फरार रहेका अभिनेता पल शाहलाई फेला पार्न नसकेपछि प्रहरीले उनी नजिकका व्यक्तिहरुसँग सोधपुछ थालेको छ।
त्यही क्रममा प्रहरीले शनिबार चलचित्र निर्देशक सुदर्शन थापासँग सोधपुछ गरेको छ। थापालाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा बोलाएर सोधपुछ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले जानकारी दिए।
थापालाई नियन्त्रणमा लिएको नभइ सोधपुछका लागि मात्रै बोलाएको एसपी मैनालीले बताए। उनले भने, ‘निर्देशक थापालाई समाउनुपर्ने कुनै कारण नै छैन। शाहसँग नजिक भएकोले सोधपुछको लागि मात्र बोलाएका थियौँ।’
सोधपुछका लागि महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा उपस्थित भएका थापा सोधपुछपछि फर्किसकेका छन्। थापा शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’का निर्देशक हुन्। उक्त चलचित्रमा पल शाह मूख्य भुमिकामा छन्।
अभिनेता शाहविरुद्ध एक १७ वर्षीया गायिकाले बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीमा किटानी जाहेरी दिएकी थिइन्। जाहेरी परेपछि प्रहरीले शाहको खोजी तीब्र पारेको दाबी गरे पनि अझैसम्म पक्राउ गर्न सकेको छैन।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।