Movies

५० लाख हाराहारी खर्च गरेपछि राजेश हमालको ‘सत्यम्’ नबन्ने मोडमा

Rajesh Hamal Satyam

काठमाडौं । सेटदेखि कलाकारसम्ममा ५० लाख हाराहारी खर्च गरेपछि निर्माता ‘सत्यम्’ निमार्ण नगर्ने मोडमा पुगेका छन् ।

कलाकारको पारिश्रमिकमा मात्र यो फिल्मको ठूलो रकम खर्च भइसकेको छ । राजेश हमालले यो फिल्ममा २० लाख हाराहारी पारिश्रमिक लिएको र एडभान्स रकम पनि राम्रै लिएको चर्चा थियो ।

यसैगरि अनुपविक्रम शाही र पल शाहले पनि एडभान्सवापत राम्रै रकम लिएका छन् ।

सुटिङमा जाने भनेर वर्कसप समेत भएको फिल्म लगभग नबन्ने मोडमा पुगेको फिल्म निकट स्रोतले बताएको छ ।

राजेश हमाललाई कमब्याक गराउने दाबीसहित घोषणा गरिएको फिल्मको पोखरामा सेटसमेत निर्माण भएको थियो । पोखरामा फिल्मका मुख्य कलाकार हमाल, अनुपविक्रम शाही, पल शाह र मल्लिका महतसमेत सहभागी भई कार्यशालासमेत भएको थियो ।

तर यही कार्यशालापछि टिम तितरबितर भएको थियो । फिल्ममा पल शाहको अपोजिटमा रहेकी मल्लिकाले यही कार्यशालापछि फिल्म छाड्ने निर्णय गरेकी थिइन् । निर्माण टिमले उनको ठाउँमा उपासना सिंह ठकुरीलाई लिएर फिल्म सुटिङ अगाडि बढाउने निर्णय गरेको थियो ।

यो फिल्मले देशका तीन ठाउँमा अडिसन लिएको थियो । सहायक कलाकार छान्नका लागि निर्माण टिमले काठमाडौँ, पोखरा र बुटबलमा अडिसन गरेको थियो ।

योबाहेक पोखरामा भव्य सेट बनाउन पनि निर्माताले २५/३० लाख खर्च गरेको दाबी गरेका थिए । यो फिल्मको बजेट ८ करोड दाबी गरिएको थियो । निर्देशकले ५ करोड निर्माणका लागि र ३ करोड प्रचारप्रसारका लागि छुट्याउने दाबी गरेका थिए ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments