काठमाडौं । सुवर्ण थापा निर्देशित नयाँ चलचित्र ‘द सिक्रेट्स अफ राधा’ को पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेत्री सृष्टि श्रेष्ठ शीर्ष भूमिकामा छिन् । सृष्टिले एकल आमाको भूमिका निर्वाह गरेकी छन् । सार्वजनिक पोस्टरमा उनी हराएका पतिको खोजीमा निस्किएको देखिन्छ ।
सुवर्ण थापा निर्देशित चलचित्र ‘राधा’ श्यामश्वेत प्रविधिमा निर्माण गरिएको छ । निर्देशक सुवर्ण र अभिनेता सौगात मल्ल निर्माता रहेको फिल्ममा सृष्टिसँगै सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, पुष्कर गुरुङलगायतका कलाकारको अभिनय छ ।
चलचित्रमा दयाहाङ राई र निश्चल बस्नेत विशेष भूमिकामा रहेको जानकारी निर्माण संस्थाले दिएको छ । नरेन्द्र मैनालीले खिचेको चलचित्रमा कालीप्रसाद बास्कोटाको सङ्गीत छ ।
भदौ १० गते रिलिज हुने फिल्मका निर्माता अभिनेता समेत रहेका सौगात मल्ल हुन् । चलचित्रकै प्रचारप्रसारका लागि सौगातले तीन महिनाका लागि अभिनयबाट विश्राम समेत लिएका छन् ।