काठमाडौं । दुई वर्षअघि आएको बहुचर्चित गीत ‘सोचे झैं जिन्दगी रैनछ’ की गायिका मधु क्षेत्रीको जिन्दगीले नयाँ मोड लिएको छ । उनले हालै विवाह गरेकी छन् ।
अष्ट्रेलियामा बसोबास गर्ने प्रेमीसँग मधुले केही दिनअघि कुनै समारोहविना कोर्ट म्यारिज गरेकी हुन् । यो उनको दोस्रो विवाह हो । पहिलो श्रीमानसँग सम्बन्धविच्छेद भएपछि उनी एकल जीवन बिताउँदै आएकी थिइन् । मधुकी १७ वर्षीया एक छोरी छन् ।
दोस्रो विवाहसँगै मधुले संगीत क्षेत्रसँग ‘सम्बन्धविच्छेद’ गर्ने भएकी छन् । चाँडै अष्ट्रेलिया गएर श्रीमानसँगै आनन्दको जीवन बिताउने उनको तयारी छ ।
एक अन्तर्वार्तामा मधुले भनेकी छन्, ‘हो, मैले अब संगीत क्षेत्रलाई छोडेँ । दुईवटा नाउँमा खुट्टा राख्दा डुबिन्छ । यहाँका यादहरु बोकेर विदेश जाँदैछु ।’