काठमाडौं । प्रदर्शनको दिन नजिकिँदै गर्दा चलचित्र ‘प्रेमगन्ज’ले नयाँ गीत सार्वजनिक गरेको छ । ‘फेरि भेट होला नहोला’ बोलको लिरिकल गीत सार्वजनिक गरिएको हो । गीतले बिछोड भएका प्रेमी–प्रेमिकाको भाव समेटेको छ ।
सार्वजनिक गीतमा कृष्णहरि बरालका शब्दलाई गैरे सुरेशले संगीत दिएका छन् । गीतमा स्वेच्छा ठकुरी र प्रबिन बेडवालको स्वर छ । भदौ ३ लाई प्रदर्शन मिति तोकेको ‘प्रेमगन्ज’लाई परिच्छेद सेनले निर्देशन गरेका हुन् ।
प्रेमकथामा बनेको चलचित्रमा तेज गिरी, बेनिशा हमाल, राइडर प्रशन, सुप्रिया खनाल र सिमरन खड्काको शीर्ष भूमिका छ । चलचित्रले दुई कालखण्डको प्रेमकथालाई पेश गर्छ ।
अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रलाई परिच्छेद स्वयंले लेखेका हुन् । चलचित्र नेपाललगायत भारतका केही शहरमा एकसाथ प्रदर्शन हुँदैछ ।
योसँगै चलचित्र युरोपका ४४ देशका सिनेमाघरमा पनि रिलिजको तयारी भइरहेको निर्माण टिमले जनाएको छ ।
अर्जुन जीसीको सम्पादन र सञ्जय लामाको छायांकन रहेको चलचित्रमा नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, सञ्जोग रसाइली, पवन भट्टराई आदिको पनि अभिनय रहेको छ । चलचित्रमा किरण भुसाल, पुरुषोत्तम ढुंगेल, गैरे सुरेश र सरोज पोखरेलको संगीत रहेको छ ।