काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्ति खारेज गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा शुक्रबार पनि सुनुवाइ हुन सकेन ।
सर्वोच्चले यो मुद्दालाई हेर्न नभ्याइने सूचीमा राखेको छ । शुक्रबार यो मुद्दा न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासमा परेको थियो ।
नरेशकुमार पौड्यालसहित पाँच जना अध्यक्षका दाबेदारले गत साउन ३० गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्ड र भुवन केसीलाई विपक्षी बनाई रिट दायर गरेका थिए । भुवन केसीको शैक्षिक योग्यतामाथि उनीहरुले प्रश्न उठाएका छन् ।
अदालतले अन्तरिम आदेशका लागि अंकभारसहितको सक्कल फाइल झिकाउन आदेश दिएपछि भुवनको मुद्दाको पेशी सर्दै आएको छ ।