काठमाडौं । मण्डला थिएटरले आगामी मंसिर ९ देखि १७ गतेसम्म नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको दोस्रो संस्करण आयोजना गर्ने भएको छ ।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नाट्य महोत्सवमा १६ देशका २३ नाटक मञ्चन हुने जानकारी गराइयो । जसमा पाँच नेपाली नाटक छन् । २०० जना कलाकारले भाग लिने महोत्सवमा १० हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।
‘सामाजिक रुपान्तरणका लागि रगमञ्च, विविधताको उत्सव’ नारासहित हुन लागेको नौ दिवसीय महोत्सवमा नेपालसहित अमेरिका, बेलायत, रुस, स्पेन, इटाली, आर्मेनिया, अर्जेन्टिना, इजिप्ट, उरुग्वे, नाइजेरिया, बेलारुस, भारत, भुटान र श्रीलंकाली नाटक मञ्चन हुनेछन् ।
भारत, उरुग्वे, कम्बोडिया लगायतका मुलुकबाट आएका कलाकार तथा अभियन्ताले कार्यशाला र तालिम सञ्चालन गर्ने भएका छन् । डेढ करोड रुपैयाँ बजेटमा आयोजना हुन लागेको फेस्टिभलमा सांस्कृतिक झाँकी, अन्तरक्रिया र छलफल पनि हुने भएको छ ।
फेस्टिभल संयोजक विजया कार्कीले इनोभेटिभ आइडिया अवार्डको पनि पत्रकार सम्मेलनमा घोषणा गरिन् । एक लाख रुपैयाँ राशी रहेको यो अवार्डमार्फत इच्छुकले निर्देशन, लेखन, निर्माण, अनुसन्धानजस्ता विधामार्फत आवाज प्रस्तुत गर्न सक्नुपर्नेछ । सोमबारदेखि नै अवार्डका लागि आवेदन समेत खुलेको छ ।