Todays Date: २०८३ असार १३

विदेशमा ‘ऐना झ्यालको पुतली’ माग बढ्दो, बक्स अफिसमा कमायो १ करोड

काठमाडौं । नेपालमा दर्शक र समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको फिल्म ‘ऐना झ्यालको पुतली’ हलमा तेस्रो हप्ता चलिरहेको छ।

यो फिल्म नेपालबाट ९५ औँ संस्करणको एकेडेमी अवार्ड (अस्कर)का लागि सिफारिस भएको छ। फिल्मले बक्स अफिसमा १ करोड कमाएको छ।

तेस्रो हप्तामा पनि दर्शकको राम्रो साथ पाइरहेको फिल्मले अब चाँडै विदेशमा पनि यात्रा थाल्ने भएको छ। नेपालमा दर्शकको राम्रो प्रतिक्रिया पाएसँगै विदेशमा फिल्मको माग बढेको हो।

नेपाली भाषीको बाहुल्य भएका धेरै देशले फिल्मको प्रदर्शनमा चासो देखाएको र यसका प्रदर्शन अधिकार बिक्ने क्रम जारी रहेको निर्माता आकाश पौडेलले जानकारी दिए।

उनका अनुसार फिल्मको अष्ट्रेलिया र न्युजिल्याण्ड अधिकार बिक्री भएको छ। यसअघि जापानमा फिल्मको अधिकार बिक्री भइसकेको छ।

बुसानको मुख्य प्रतिस्पर्धामा नेपालबाट छनोट हुने पहिलो फिल्मको रेकर्ड बनाएको सुजित बिडारी निर्देशित फिल्मले बंगलादेश ढाकाको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशकको अवार्ड जितेको थियो । त्योबाहेक फिल्म विदेशका थुप्रै फेस्टिभलमा पनि छानिएको थियो ।

तीन दशक पुरानो परिवेश र समाजलाई कलात्मक तवरले अभिव्यक्त गरेको भन्दै दर्शकबाट धाप पाइरहेको फिल्मलाई आकाश पौडेलसँगै प्रविन स्याङ्बो, रामकृष्ण पोखरेल र सुजित बिडारी मिलेर निर्माण गरेका हुन् । फिल्ममा सिरु बिष्टबाहेक सबै नयाँ कलाकारले अभिनय गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x