गायिका मिलनले पूरा गरिन् वाचा, राजनको संगीतमा विनोदसँग गरिन् गीत रेकर्ड

द भ्वाइस अफ नेपालको कोचसमेत रहेकी गायिका मिलन नेवारले द भ्वाइसको टप आठमा पुगेका विनोद राई र आफ्नो स्वरमा रहेको गीत ल्याउन लागेको जानकारी दिएकी छन् ।  द भ्वाइसको कार्यक्रमै आफ्नो टिममा रहेका विनोद राईलाई ब्लाइन्ड अडिसनमा आफूसँग गीत गाउने अवसर दिने भन्दै गायिका मिलनले प्रतिस्पर्धी विनोदलाई आफ्नो टिममा ल्याएकी थिइन् । द भ्वाइसकै अडिसनमा विनोदसँग गीत गाउने वाचा गरेकी उनले अब सो वाचा पूरा गर्न ‘चञ्चल बिजुली आँखा’ बोलको गीत रेकर्ड गरेकाे जानकारी दिएकी हुन् ।

ब्लाइण्ड अडिसनबाट नै आफ्नो अब्बल प्रस्तुति विनाेदले दिइरहेका छन्। ब्लाइण्ड अडिसनमा उनले ‘छालहरु ओ छालहरु’ गीत गाएका थिए। चारजना नै कोचको कुर्सी घुमाउन सफल विनोदलाई आफ्नो टिममा लिन कोचले हानथाप गरेका थिए। आफ्नो टिममा लिन कोच मिलनले राजनराज शिवाकोटीको संगीतमा आफ्नो र विनोद राईको आवाजमा गीत रेकर्ड गराउने बाचा गरेकी थिइन्। सोहि वाचासँगै विनोद मिलनको टिममा आएका थिए। कोच मिलनले उक्त वाचा पुरा गर्दै विनोदसँग गीत रेकर्ड गराएकी छिन्। प्रिज्म रेकर्डिङ्ग स्टुडियोमा मिलन र विनोदको आवाजमा राजनराजले गीत रेकर्ड गराएका छन्। गीत रेकर्डसँगै विनोदले यो अवसर आफ्नो करियरको लागि निकै ठुलो भएको प्रतिक्रिया दिएका छन्। भ्वाइसको टप ८ मा पुगेका उनी विजेताको दावेदारको रुपमा रहेका छन्।


नेपाली गायन क्षेत्रमा मिलन नेवार र राजनराज शिवाकोटीले आफ्नो विशिष्ट स्थान बनाएका छन्। मिलन र राजनको सहकार्यमा पछिल्लो समय सुपरहिट गीत सृजना भएका छन्। फुलबुट्टे सारीको सफलतापछि मिलन नेवारको करियरको दोश्रो आयाम सुपरहिट बनेको छ। राजनराज शिवाकोटीले नेपाली गीतसंगीत क्षेत्रमा दर्जनौ सुपरहिट गीत दिएका छन्। १० करोड माथिका कोसेढुंगा उनले पार गरेका छन्। राजन र मिलन सहकार्यमा एक नयाँ गायक मिसिएका छन्। भ्वाइस अफ नेपालको नयाँ सिजनमा विजेताको रुपमा हेरिएका छन् इलामेली गायक, विनोद राई।


फुलबुट्टे सारी  १० करोड भ्युज सेलिब्रेसन 


गायिका मिलनको स्वरमा आएको फुलबुट्टे सारी सपक्क पारी, पछ्यौरी मलमलको बोलको गीतले युट्युबमा १० करोड भ्युज पाएको छ । जसले उनको गायिकी उचाइलाई थप बलियो बनाइरहेका बेला उनले सो घोषणा गरेकी हुन् । २०६६ सालमा मार्मिक लामाले गाएको ‘फुलबुट्टे सारी’ तीन वर्षअघि गायिका मिलन नेवारले गाएकी थिइन् । गीतकार र सङ्गीतकार राजनराज सिवाकोटीको यो गीत १२ वर्षपछि चर्चामा आउन सुरु भएको थियो । यसरी गीतले चर्चा पाउनुको कारण दर्शक र श्रोताले हृदयदेखि नै मन पराइदिनु रहेको गायिका मिलन बताउँछिन् । 


झन्डै मृत्युतुल्य अवस्थामा पुगेको यो गीत २०७७ को लक्ष्मीपूजाको दिन फेरि रेकर्डिङ गरेपछि एकाएक लोकप्रिय मात्र भएन त्यही लोकप्रियताको कारण विभिन्न भर्सनमा समेत निकालियो । गीतमा शब्द, साङ्गीतिक र गायन तीनै पक्ष उत्कृष्ट छ । रोमान्टिक भावधाराको यो गीतमा एउटा प्रेमीले आफ्नै प्रियसीको बारेमा मिठा कल्पना गरेको सुन्न पाइन्छ । 


नारीको केशलाई रेशमी चुल्ठोसित तुलना गरिएको गीतमा नारीको सौन्दर्यलाई विभिन्न कोण–प्रतिकोणबाट व्याख्या गरिएको छ । गायिका मिलन नेवारको स्वरमा पुनर्जिवित भएको यो गीतले तीन वर्षमा युट्यवमा १० करोड भ्युज कमायो । गायिका नेवार र गीतकार एवं सङ्गीतकार सिवाकोटी लगायत टिमले आइतबार केक काटेर खुसीयाली मनाए । 


काठमाडौँको प्रिज्मा रेकर्डिङ स्टुडियोमा खुसीयाली मनाउँदै गायिका मिलन नेवारले आफूले यो गीत गाउन पाउनु पुनर्जन्म पाए जतिकै भएको बताइन् । यो गीतको सफलतासँगै आफ्नो गायन यात्रा सफल भएको भन्दै उनले गीतकार एवं सङ्गीतकार सिवाकोटीले दिएको उक्त अवसरको मुक्तकण्ठले प्रशंसा गरिन् । सिवाकोटीले पनि यो गीतले अपेक्षाकृत सफलता पाएको भन्दै खुसी व्यक्त गरे । उनले यो गीत हिट बन्नुमा मिलन नेवार लगायत टिमकोको मेहनत र श्रोता दर्शकको मायाको  ठूलो हात रहेको भन्दै प्रशंसा गरे । 


 खुसीयाली साटासाट कार्यक्रममा उक्त गीतका म्युजिक भिडियो निर्देशक राजेश पुमा राईले देशको जनसङ्ख्या भन्दा ५ गुणा भ्युज आउनु निक्कै खुसीको विषय भएको बताए । उनै गायिका मिलनले नवगायक विनोद राईलाई अवसर दिएर साङ्गीतिक क्षेत्रमा एउटा इँटा थप्ने काम गरेकी हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x