रेखा भन्छिन्- उपहार हेर्दा दर्शकले नयाँ उर्जा पाउनुहुनेछ

Rekha Thapa

अभिनेत्री रेखा थापा पाँच वर्षपछि फिल्म ‘उपहार’ मार्फत दर्शकमाझ आउँदैछिन् । रेखा पहिलो सन्तानलाई जन्मदिन परिवारसँग अमेरिकामा रहे पनि आगामी फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को प्रचारप्रसार अमेरिकामै बसेर गरिरहेकी छन् । उनले त्यहीबाट विभिन्न सञ्चारमाध्यममा अन्तरवार्ता दिइरहेकी छन् ।

रेखाले निर्देशन र अभिनय गरेको फिल्म ‘मालिका’ पाँच वर्षअघि दर्शकमाझ आएको थियो । पाँच वर्षपछि दर्शकमाझ आउन पाउँदा उनी उत्साहित छिन् । ‘मालिकापछि मैले अभिनेत्रीकै रुपमा फिल्ममा त काम गरिनँ । तर एक दुईवटा फिल्मका गीतमा केमियो गरें’, उनी भन्छिन्, ‘फिल्ममा काम गर्ने सोच त थियो, तर बीचमा कोभिड महामारीको लकडाउनले त्यो सम्भव भएन ।’

रेखाको बुझाईमा ‘उपहार’ अमूल्य विषय हो । उनको भनाईमा ‘उपहार’ दर्शकको मन मस्तिस्कमा बस्ने गरी लेखिएको र बनाइएको छ । ‘नेपाली फिल्म नियमित हेरिरहने र कहिल्यै नेपाली फिल्म नहेर्ने दर्शकले पनि ‘उपहार’लाई हेर्नुहुनेछ भन्नेमा हामी ढुक्क छौं । यो फिल्म हेर्दा आम दर्शकले नयाँ उर्जा पाउनुहुनेछ ।’

रेखाका अनुसार ‘उपहार’ले सामाजिक विषयवस्तुलाई मनोरञ्जनपूर्ण हिसाबले प्रस्तुत गरेको छ । नेपाली फिल्ममा एउटै विषयवस्तु भयो भन्ने आरोप आफूले पनि सुनिरहेको बताउने उनले त्यो आरोपलाई ‘उपहार’ले गलत साबित गर्ने दाबी गरिन । ‘हाम्रो फिल्म आँखालाई शितल दिने किसिमको छ । फिल्ममा हरेक मान्छेको यात्रामा भेटिने सफलता र असफलता तथा प्रेम र विछोडका कुरा दर्शकले पाउनुहुनेछ’, रेखा भन्छिन् ।

रेखाले ‘उपहार’मा समाज रुपान्तरणका कुरादेखि लिएर हरेक दिन समाजमा भइरहने घटनाका कुरा पनि उठान भएको बताइन् । फिल्ममा नारीमात्र होइन, पुरुष पनि पीडित छन्न् भन्ने कुरा देखाइएको उनले सुनाइन् ।

‘५–१० वर्ष यता नेपाली फिल्ममा देखिँदै आएका कथा भन्दा ‘उपहार’को कथा फरक छ । हामीले ‘हिट’ भन्दा पनि दर्शकले मनपराउने कथामा फिल्म बनाएका छौं । फिल्मको कथा, छायांकन, सम्पादन, संगीतलगायत सबै कुराले दर्शकलाई मनोरञ्जन दिन्छ भन्नेमा ढुक्क छौं । दर्शकले तनाव मुक्त भएर ‘उपहार’ हेर्नुहुनेछ’, उनले भनिन् ।

रेखाले नयाँ कलाकारसँगको सहकार्यले आफू खुशी भएको बताइन्। ‘फिल्मको प्रमोसनमा नयाँदेखि पुराना कलाकारहरुले उत्तिकै साथ दिइरहनुभएको छ । मेला, महोत्सव होस् या मिडिया अन्तरवार्तामा उहाँहरु सक्रिय हुनुहुन्छ’, रेखा भन्छिन् ।

ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको पनि अभिनय छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x