Todays Date: २०८३ असार ८

दर्शकबाट राम्रो वर्ड अफ माउथ पाएसँगै, ‘अगस्त्यः च्याप्टर १’का निर्माणपक्षले दर्शकलाई दिए ‘धन्यवाद’

432125946 955079125795220 3249253376356600169 n

गत फागुन १८ गतेबाट रिलिज फिल्म ‘अगस्त्यः च्याप्टर १’ अहिले चौथो सातामा प्रदर्शनरत छ । फिल्मले बुधबार राजधानीमा पत्रकार भेटघाट गरेर चौथो हप्ता प्रदर्शनको खुशी साट्दै दर्शकलाई धन्यवाद दिएको छ ।

फिल्मका निर्देशक सौरभ चौधरीले अहिलेको अवस्थामा आलोचना र तारिफका बाबजुद पनि फिल्म चौथो सातामा प्रवेश गर्नु खुशीको कुरा भएको बताए । ‘दर्शकको वर्ड अफ माउथले गर्दा हाम्रो फिल्म चौथो सातामा प्रदर्शनरत छ । दर्शकले देखाउनुभएको मायाप्रति हामी खुशी छौं’, निर्देशक चौधरीले भने, ‘फिल्ममा पक्कै पनि केही कमिकमजोरी छन् । त्यो कमीकमजोरीलाई सुधार्दै जाने हामी प्रण गर्छौ ।’

निर्देशक सौरभले आफ्ना हरेक दृश्य एकअर्कासँग ‘कनेक्टेड’ भएको उल्लेख गर्दै जोकोहीले दिमागलाई खाली बनाएर फिल्म हेर्न गएमा मात्र राम्रो फिल्म हेर्न सकिने बताए । ‘फिल्म हेर्न जानुअघि कसको फिल्म, कस्तो फिल्म भनेर सोच्ने भन्दा पनि त्यो सोचलाई खाली राखेर हेर्न गइयो भने मात्र दर्शकको मन भरिन सक्छ’, उनले भने ।

निर्माता अनिश तामाङले कुनै पनि परीक्षामा सय नम्बरमा सय नै अंक आउनु असम्भव रहेको जनाउँदै आफ्नो फिल्मलाई दर्शकले दिएको अंकले खुशी भएको बताए । ‘म र टिमका लागि यो ठूलो उपलब्धि हो । हाम्रो फिल्मले अहिले राम्रो पिकअप लिइरहेको छ । सकारात्मक र नकारात्मक समीक्षा आए पनि दर्शकको साथ पाइरहेका छौं’, तामाङले भने ।

उनले आफ्नो टिमले चाँडै नै ‘अगस्त्यः च्याप्टर २’ निर्माणको तयारी गरिरहेकाले ‘अगस्त्यः च्याप्टर १’मा भएका कमी कमजोरीलाई सुधार्दै अझ परिस्कृत कथा नयाँ भागमा देखाइने बताए ।

अभिनेता सौगात मल्लले फिल्म प्रमोसनका लागि मोफसलका थिएटर र दर्शकमाझ पुग्दा त्यहाँ पाएको साथ र सहयोग आफ्ना लागि ‘सर्पोटिभ’ भएको बताए । ‘मोफसलका हलमा जाँदा दर्शकहरुले म र फिल्मलाई विश्वास गरेर हलमा आउनुभयो । उहाँहरु हाम्रो फिल्म हेर्न उत्साहित भएको पाएँ । कलाकार र मेकरका लागि यो भन्दा खुशीको कुरा अरु के नै हुनसक्छ र ?’ उनले भने ।

अभिनेत्री मलिका महतले दर्शकले फिल्म प्रति दिनुभएको माया र साथप्रति आभार व्यक्त गरिन् । उनले आफूले चरित्रलाई न्याय दिन सकेको कुरा दर्शकबाट पाएको प्रतिक्रियाबाट प्रमाणित भएको बताइन् ।

फिल्ममा ‘त्रिपाठी’ चरित्र निर्वाह गरेका अभिनेता प्रमोद अग्रहरिले अहिले चलिरहेको फिल्म भन्दा ‘अगस्त्यः च्याप्टर १’ अब्बल बनेको बताए । ‘दर्शकले मेरो बोल्ने शैली, गेटअप र प्रस्तुतिलाई धेरै मनपराउनुभएको पाएँ । मेरा अन्य साथीहरु प्रति दर्शकको बुझाई पनि राम्रो देखें’, उनले भने । उनले हरेक चरित्रलाई दर्शकले नियालिरहेको आफूले बुझेकाले कलाकारले पनि आफ्नो अभिनयलाई अझ परिस्कृत गर्दै लैजानुपर्ने चुनौति आफूले देखेको खुलाए ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, निश्चल बस्नेत, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ ।

विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको चलचित्रमा सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।

निर्माणपक्षले ‘अगस्त्य च्याप्टर २’लाई सन् २०२६ मा रिलिज गर्ने घोषणा गरेको छ ।

419133280 934837714717282 5032510196570798143 n
432102853 1893171491132113 8308934583075394581 n 1
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x