
फिल्मको संवादमा विशेष ध्यान दिने निर्देशकहरुमा रामबाबु गुरुङ अग्रसूचीमा पर्छन् । चाहे ‘कबड्डी’का श्रृंखला होस् या ‘फूलबारी’, संवादमा उनको राम्रो दख्खल देखिन्छ । उनका फिल्मको विशेषता भनेकै रोचक संवाद र चोटिला पञ्चलाइन हुन् । उनको आगामी फिल्म ‘डिग्री माइला’को ट्रेलरमा पनि त्यो छनक आउँछ । ट्रेलरमा समावेश केही संवादले फिल्मप्रति दर्शकको ध्यान खिचेको छ ।
५ दिन अगाडि रिलिज भएको फिल्म ‘डिग्री माइला’को ट्रेलरलाई दर्शकले रुचाएका छन् । यो फिल्मको ट्रेलरलाई १० लाख भन्दा बढी पटक युट्युबमा हेरिएको छ । नेपाली फिल्मको ट्रेलरले हिजोआज १० लाख भ्यूज पाउन निकै मुश्किल पर्ने गरेको छ ।
लगातार तीन वटा फिल्म असफल भएपछि केही दबाबमा परेका नायक दयाहाङ राईका लागि चैत्र ३० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘डिग्री माइला’ले खुशी दिने छनक देखाएको छ ।
३० हजार भन्दा बढी लाइक पाएको यो ट्रेलरमा १३ सय भन्दा बढीले प्रतिक्रिया दिएका छन् । दर्शकले फिल्मको संवाद, नायक दयाहाङ राई र नायिका आँचल शर्माको जोडीलाई पनि रुचाएका छन् ।
फिल्ममा दया र आँचलको साथमा विजय बराल, माओत्से गुरुङ बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रकाश घिमिरे, कमलमणी नेपाल लगायतका कलाकारको पनि अभिनय छ ।
नयाँ बर्षको छेकोमा रिलिज हुन लागेकाले पनि फिल्मलाई अझ बढी फाइदा हुने देखिन्छ ।