
चैत ३० गते रिलिज हुने फिल्म ‘द रेड सुटकेस’को ट्रेलर सार्वजनिक भएको छ। मङ्गलवार काठमाडौंको सिडिसी सिनेमा हलमा पत्रकार भेटघाट गर्दै २ मिनेट १४ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो।
फिडेल देवकोटाले निर्देशन गरेको यो फिल्मले विभिन्न महत्त्वपूर्ण अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा अवार्डहरू जित्न सफल छ। यसको ट्रेलरमा सौगात मल्ल, विपिन कार्की, प्रविण खतिवडा, सृष्टि श्रेष्ठ लगायतको प्रमुख भूमिका रहेको छ। यसमा सौगात ड्राइभरको भूमिकामा छन्। सुशन प्रजापतिको छायाङ्कन र समन अलभितिगाको सम्पादन छ। जर्मनीबाट भिजुअल एन्थ्रोपोलपजी विषयमा विद्यावारिधि गरेका निर्देशक देवकोटाको यो पहिलो फिल्म हो।
यो फिल्मको ट्रेलर अन्य फिल्मको भन्दा भिन्न छ । जसले दर्शकलाई फिल्मप्रति उत्साह जाग्ने पक्का छ ।
मध्यम तथा न्यून वर्गीय नेपाली समाजका युवाहरूको वर्तमान कथामा मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर यो फिल्म बनेको छ । यसको प्राविधिक काम श्रीलङ्का र भारतमा गरिएको छ ।
यो फिल्म आइसफल प्रोडक्सनको प्रस्तुति, सिने संकिपासँगको सहकार्य र फिल्म काउन्सिल प्रोडक्शन्सको सह-निर्माणमा बनेको हो। रामकृष्ण पोखरेल, शोभा थापा र फिडेल देवकोटा निर्माता रहेको यस फिल्मका सह-निर्माता श्रीलङ्काका विमुक्ति जयसुन्दरा हुन्।
जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल र भारतको मुम्बई फिल्म फेस्टिभलमा छनोट भएको यो फिल्मले विश्वविख्यात भेनिस फिल्म फेस्टिभल तथा जाफ्ना इन्टरनेशनल फिल्म फेस्टिभलमा अवार्ड जितिसकेको छ।