
नायक प्रदीप खड्कासँग फिल्म ‘एक्टर’मा काम गर्नका लागि दिव्या रायमाझी नेपाल आइपुगेकी छिन् । एक साता अगाडि नेपाल आएर पनि उनी गुपचुप रूपमा बसिरहेकी छिन् ।
दिव्यालाई फिल्मको टिमले एकै पटक छायांकनको समयमा मिडियासँग भेट गराउने तयारी गरेको छ । नायक दिलीप रायमाझीकी छोरी दिव्याले यही फिल्मबाट रजतपटमा करिअरको सुरुवात गर्दै छिन् ।
दिव्याले फिल्म ‘वरिष्ठ बलराम’ पनि साइन गरिसकेकी छिन् । यो फिल्मको छायांकन भने कहिलेबाट सुरु हुन्छ पक्का छैन ।
यो फिल्मका लागि दिव्याले वर्कशप पनि गरिरहेकी छिन् । फिल्मको छायांकन वैशाखको तेस्रो साताबाट सुरु गर्ने तयारी निर्माण पक्षको छ । राजन भुसालको निर्देशनमा तयार हुन लागेको फिल्ममा थमन भण्डारीको लगानी छ ।
यसैबिच, नायक दिलीप रायमाझीले काठमाडौँको बानेश्वर आसपासमा नयाँ घर किनेका छन् । नयाँ बानेश्वर र पुरानो बानेश्वरको बीचमा करिब ६ करोड मूल्यमा उनले घर किनेको स्रोतले जनाएको छ । त्यस घरमा उनको परिवार यसै साता सरिसकेको छ । अब दिव्याका लागि नयाँ गाडी किन्ने योजनामा दीलिप छन् । उनका लागि महिला म्यानेजर पनि नियुक्त गरिँदैछ ।
छोरी दिव्याले नेपाली फिल्म क्षेत्रमा नै करिअर बनाउने तयारी गरेपछि दिलीपले काठमाडौँमा घर किनेका हुन् ।
दिलीप केही वर्ष अगाडि परिवारसहित अमेरिका हानिएका थिए । यसपछि, उनी भने अमेरिका भन्दा नेपालमा नै बढी व्यस्त देखिएका छन् । अब, दिव्या पनि नेपाली फिल्म क्षेत्रमा नै करिअर बनाउने दौडमा छिन् ।