‘बोक्सीको घर’बाट तारिफ बटुल्दै सुपला

यस भन्दा अगाडि नेपाली फिल्म बजारमा शुपला सापकोटाको नाम खासै सुनिएको थिएन । अझ, उनी सफल कलाकार भोलाराज सापकोटाकी छोरी हुन् भन्ने त कमैलाई मात्र थाहा होला । तर, भोलि शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘बोक्सीको घर’ले सुपलालाई बाल–कलाकारको रुपमा फिल्म क्षेत्रमा स्थापित गरिसकेको छ । उनी यसमा ‘जुना’को भूमिकामा छिन् ।
फिल्मलाई थप उचाइमा पुर्याइदिइएकी शुपलाको अभिनयका हिसाबले केकी अधिकारी जस्ती अब्बल कलाकारलाई पनि यो फिल्मबाट ओझेलमा पारिदिएकी छिन् ।
फिल्म हेर्दा दर्शकले शुपलाको अभिनयमा आफूलाई पाउँछन् । उनले फिल्ममा ज्यान भरेकी छिन् । केकीकै बालापनको भूमिकामा अभिनय गरेकी सुपलाको संवाद बोल्ने शैली, अभिनयमा हाउभाउ, पात्र अनुसारको अभिनय गज्जब छ । यसैले, फिल्म हेरेपछि अधिकांशले उनको अभिनयको तारिफ गरे ।
फिल्ममा केकी अधिकारी र शुपला नै हाबी छन् । कथा अनुसार, यी दुई पात्र एउटै हुन् । तर, यी दुबैले बाँचेको परिवेश र समय फरक छ ।
शुपलाले केही दशक अगाडिको नेपाली समाजको प्रतिनिधित्व गरेकी छिन् भने केकीले केही बर्ष अगाडिको नेपाली समाजको प्रतिनिधित्व गरेकी छिन् ।
अभिनयकै कारण चर्चामा आएकी केकी अधिकारीसँग एक साथ पर्दा शेयर गरेर आफूलाई अब्बल साबित गर्नु शुपलाका लागि चुनौतीपूर्ण नै थियो । तर, फिल्म हेरेपछि उनकै तारिफ बढी हुनु, उनको सफलता हो । फिल्म हेरिरहँदा धेरैले तारिफ गर्दै भन्दैथिए–‘यी नानी अभिनय गर्नकै लागि जन्मिएकी हुन् ।’

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।