भजन शिरोमणी गायक भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म ‘आचार्य’ असार ७ बाट पुनः प्रदर्शनमा आउने भएको छ। यो फिल्मलाई नेपालमा ब्यांकटेस इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिजले एकसाथ प्रदर्शन गर्ने भएको हो ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच फिल्म आगामी असार ७ गतेबाट पुनः प्रदर्शनमा आउने जानकारी गराइएको हो । गायक आचार्यको भूमिका उनकै जेठा छोरा सत्यराजले निर्वाह गरेका छन् भने उनी यो फिल्मको निर्माता पनि हुन् ।
१३ वर्षपछि पुनः प्रदर्शनमा आउने यो फिल्मको पहिलो पटक रिलिज हुँदा धेरैले हेर्न नपाएकाले पुनः रिलिज गर्न लागिएको हो । त्यस्तै, यो फिल्मको असार ५ गते राजधानीमा भव्य प्रिमियर शोको आयोजना गरिने सत्यराजले बताए ।
यो फिल्मले २०४६ सालमा सांघातिक आक्रमणपछि उनको जिब्रोमा सेतो दाग देखिएको थियो । डाक्टरले क्यान्सर भएको घोषणा गरेपछि जिब्रो काटिएको थियो । यसपछि उनको सुर र स्वर गुम्न पुग्यो । त्यो घटनाको कथा यो फिल्मले पेस गर्छ ।
फिल्मको ट्रिमिङ्ग तथा पुन सम्पादनको काम ‘टुल्की’ निर्देशक देवजंग थापाले गरेका हुन् । फिल्ममा भजन शिरोमणी तथा बरिष्ठ गायक भक्तराज आचार्यको निधन पश्चातका फुटेजहरु पनि समावेश गरिएका छन् । यस पटक आफुहरुले दर्शकलाई पूर्ण रुपमा बायोपिक फिल्म देखाउन खोजेको अभिनेता सत्यराज आचार्यले बताए । फिल्मका निर्माता रोशन राई हुन् ।
प्रशान्त रसाइलीको निर्देशनमा तयार भएको यो फिल्ममा सत्यराजसहित सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपीन कार्की, सौगात मल्ललगायतको पनि अभिनय छ ।