News

साम्राज्ञी र धिरजको ‘रुमानी रंग’बाट बाहिरिए निर्देशक अनिल

anil rumanirang
anil rumanirang

छायाङ्कनमा नजाँदै फिल्म ‘रुमानी रङ्ग’ लफडामा परेको छ। ९० प्रतिशत सुटिङ अस्ट्रेलियामा हुने भनिएको यो फिल्मबाट निर्देशक अनिल योञ्जन बाहिरिएका छन्।

मङ्गलवार सामाजिक सञ्जालमा एक वक्तव्य लेख्दै योञ्जनले यो फिल्मबाट निर्देशकको रूपमा आफ्नो नाम फिर्ता लिने निर्णय गरेको बताएका छन्।

उनले लेखेका छन्, ‘धेरै विचार पछि मैले ‘रुमानी रङ्ग’बाट निर्देशकको रूपमा आफ्नो नाम फिर्ता लिने निर्णय गरेँ। मैले आधिकारिक रूपमा यो परियोजनाबाट २ जुनमा राजीनामा दिएको थिएँ। मेरो राम्रो प्रयास र प्रतिबद्धताका बाबजुद फिल्मको प्रगतिमा प्रभाव पार्ने आधारभूत समस्याहरू देखे पछि, जुन मुख्यतया निर्माण टिमको संलग्नता, चासो र सङ्गठनात्मक प्रभावकारिताको अभावले उत्पन्न भएका थिए। यी समस्याहरूले ढिलाइ निम्त्याएको थियो र फिल्मको गुणस्तर र सम्भावित सफलतामा असर पर्ने देखे पछि मैले राजीनामा दिएको हो।’

उनले यो फिल्मबाट आफ्नै चाहनाले बाहिर रहेको उल्लेख गरेका छन्। उनले आफूलाई आफ्नै निर्णयले निराश बनाएको पनि बताएका छन्। उनले निर्माताहरूले नयाँ निर्देशक खोज्न समय मागेको हुनाले जुन २ मा नै राजीनामा दिएको भएता पनि ढिला सार्वजनिक गरेको बताएका छन्।

योञ्जनले यसको कथा र अवधारणा निर्माताकै रहेको बताए। यद्यपि उक्त कथाबाट आफूले विकास गरेको स्क्रिप्ट भने आफैसँग रहने बताए।

यो फिल्ममा साम्राज्ञी राज्य लक्ष्मी शाह र धिरज मगरको प्रमुख भूमिका रहने छ। वैशाखको पहिलो साताबाट फ्लोरमा जाने भनिएको यो फिल्मको ९० प्रतिशत सुटिङ अस्ट्रेलियामा हुने र बाँकी १० प्रतिशत नेपालमा हुने बताइएको थियो।

यो फिल्मका प्रस्तुत कर्ता जिएम ठकुरी हुन् भने हरि मल्ल ठकुरी निर्माता हुन्। सुशील थापा, सृजन बस्नेत, सन्तोष सरु तथा विजय अधिकारी सह निर्माता हुन् ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments