Todays Date: २०८३ जेष्ठ १२

‘मोदीबेनी’को पोस्टरको केन्द्रमा वर्षा

Modibeni Poster

आगामी श्रावण १८ गते रिलिज हुने नेपाली फिल्म ‘मोदीबेनी’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेत्री वर्षा शिवाकोटीलाई केन्द्रमा राखिएको छ ।

वर्षाको स्थान अन्य कलाकारहरू भन्दा ठुलो राखिएको छ । यसको मतलब फिल्ममा वर्षाको भूमिका निकै महत्वपूर्ण रहेको अनुमान लगाउन सकिन्छ । पोस्टरमा अभिनेता अमर प्रताप श्रेष्ठ र अभिनेता प्रवीण खतिवडालाई बराबर स्थान दिइएको छ । यसबाट त्रिकोणात्मक कथा फिल्ममा रहेको अनुमान लगाउन सकिन्छ ।

त्यस्तै, पोस्टरमा अभिनेत्री रेजिना उप्रेतीलाई साधारण गाउँले महिला र अभिनेता दिलीप केसीलाई गाउँकै सम्भ्रान्त व्यक्तिको रूपमा चित्रण गरिएको छ । यसअघि अमर र वर्षाको क्यारेक्टर पोस्टर सार्वजनिक भएका थिए, जसमा अमरलाई ‘एङ्ग्री योङ म्यान’ र वर्षालाई रहस्यमय अवतारमा देखाइएको थियो ।

पोस्टर डिजाइन रोयल भीमसेनले गरेका हुन् । पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर बनेको यो फिल्मको कथामा त्यहाँको मात्र कथा नभई नेपालको जुनसुकै स्थानमा पनि त्यस्ता घटनाहरू भइरहेको पाइने निर्देशक शङ्कर कोइरालाले बताए ।

यस फिल्ममा अमर, वर्षा, प्रवीण, रेजिना, दिलीप सहित सरोज खनाल, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस गर्तौला, सुब्रत आचार्य लगायतको अभिनय रहेको छ। डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो फिल्मलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन् । यसमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् ।

फिल्मका गीतहरूमा शान भुसाल र एसडी योगीको सङ्गीत, राम अविरल बिस्ट र शान भुसालका शब्द तथा स्वरूप राज आचार्य, एसडी योगी, एरिका खाती र विज्ञानी पराजुलीको स्वर रहेको छ । यसमा उत्सव दाहालको डिओपी, भरत रेग्मीको सम्पादन, दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहेको छ । ट्राइडेन्ट कन्सेप्टको पोस्टर तथा सोसल मिडिया पब्लिसिटी डिजाइन रहेको गर्ने यस फिल्मलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x