Todays Date: २०८१ श्रावण १०
AB Filmy

अभिनेत्री मिरुना मगरलाई घरज्वाइँ बस्ने केटा भए ‘परफेक्ट’

miruna e1720629752102

‘कबड्डी ४’को ‘रेकर्डब्रेक’ व्यावसायिक सफलतापछि अभिनेत्री मिरुना मगरको करिअरले यतिबेला लोभलाग्दो उडान भरिरहेको छ । विगत ४/५ वर्षयता अभिनेत्रीहरुमध्ये सबैभन्दा बढी सफल फिल्म नै उनको खातामा छ । ‘कबड्डी ४’सहित ‘जारी’, ‘नाङ्गो गाउँ’ र ‘मनसरा’ गरी उनका चारवटा फिल्म सफल भैसकेका छन् । र, यिनै फिल्मको सफलताले उनको डिमान्ड पनि ह्वात्तै बढाएको छ ।

यतिबेला अभिनेता दयाहाङ राईसँग उनको जोडी रुचाइएको छ । उनका सफल फिल्महरु पनि सबै दयाहाङसितै छन् । यसैले यो जोडी फिल्ममा लगातार दोहोरिरहेको छ । यही शुक्रबारदेखि उनीहरुको छैठौं फिल्म ‘घरज्वाइँ’ प्रदर्शन हुँदैछ । यो फिल्मले मगर समुदायमा प्रचलित घरज्वाइँ संस्कृतिको कथा भनेको छ । फिल्ममा मिरुनाका लागि दयाहाङ उनको घरमा घरज्वाइँ बसेका छन् ।

यो फिल्ममा काम गरेपछि मिरुनालाई आफ्नो जीवनमा पनि घरज्वाइँ बस्ने केटा भइदिए हुन्थ्यो भन्ने लाग्न थालेको रहेछ । मंगलबार फिल्मको प्रिमियरमा पत्रकारले सोधेको विवाहको प्रश्नमा उनले भनेकी छन्, ‘यो फिल्म गरेपछि घरज्वाइँ बस्ने मान्छे भए ‘परफेक्ट’ हुन्छ भन्ने भैरहेको छ । त्यो हुँदा म परिवारसँगै बस्न पाउँछु । सबै कुरा हेर्दा घरज्वाइँ बस्ने मान्छे नै मेरो लागि ठीक होला (हाँस्दै) ।’

तर, तत्काल विवाहको योजनामा मिरुना छैनन् । उनको ध्यान यतिबेला फिल्ममा मात्र छ । यद्यपि, उनलाई के विश्वास छ भने समय आएपछि अचानक जीवनसाथी भेटिनेछ । ‘मैले विवाहका लागि केटा खोजिरहेको चाहिँ छैन । हरेक कुराको समय आउँछ । आफैं भेट हुन्छ होला । जसरी ‘घरज्वाइँ’मा सोरो र विञ्जुरीको अचानक भेट भयो, सायद मेरो पनि यसरी नै हुनसक्छ,’ मिरुनाले भनिन् ।

‘घरज्वाइँ’मा मिरुना भलिवल खेलाडी समेत बनेकी छन् । तर, त्यसअघि उनले यो खेल हेरिरहेको भए पनि खेलेकी थिइनन् । ‘त्यहीँ (तकसेरा)को साथी (संगीता)ले मलाई भलिवल सिकाउनुभएको थियो । दया दाईले पनि सिकाउनुभयो,’ मिरुना भन्छिन्, ‘म कसरी सिक्ने होला भनेर चिन्तित थिएँ । चिसोमा एक्कासी भलिवल खेल्दा हातहरु निलो हुने रैछ । सिकेपछि चाहिँ खेल्न मज्जा नै आयो ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top