‘घरज्वाइँ’लाई पाँचौँ दिन पनि दर्शकको उस्तै साथ

Dayahang Miruna Gharjwai

कुनै बेला आदिवासी जनजातिको कथामा आधारित फिल्मलाई डकुमेन्ट्रीको संज्ञा दिइन्थ्यो । त्यसलाई मूलधारका फिल्म नै मानिँदैन थियो । जब ‘कबड्डी’ श्रृंखलाले सफलता हासिल गर्‍यो, त्यसपछि यो समुदायको कथा व्यावसायिक बन्न थालेको छ । पछिल्ला वर्षमा त आदिवासी जनजातिको कथामा बनेका फिल्महरु नै बढी सफल छन् । ‘जारी’देखि ‘मनसरा’सम्म यसका ज्वलन्त उदाहरण हुन् ।

अब सफल हुने पालो फिल्म ‘घरज्वाइँ’को देखिन्छ । यो मगर समुदायको कथामा आधारित छ । र, फिल्म हेर्न आदिवासी जनजाति समुदायहरु हलमा ओर्लिरहेका छन् । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले शुक्रबार र शनिबार सुखद् व्यापार गरेको थियो । आइतबारदेखि कामकाजी दिन सुरु हुँदा केही खस्किएको फिल्म मंगलबारबाट फेरि उठेको छ । बुधबार पनि अवस्था राम्रो छ ।

विशेषगरी आदिवासी जनजाति समुदायहरुको बाहुल्यता रहेको सहरमा फिल्मको व्यापार आक्रामक देखिन्छ । धरानस्थित फ्रेन्डस् सिनेमाजले बुधबारलाई दिएको चार शोजमध्ये बिहानका दुई शोज हाउसफुल भए भने साँझ ७ बजेसम्मका दुई शोज हाउसफुलको संघारमा छन् । यस्तै, पोखराको मिडटाउन सिनेमाजमा पनि बुधबार सातवटा शोजमा बिहानैदेखि उल्लेख्य दर्शक देखिएका छन् ।

काठमाडौंतर्फ चाबहिलस्थित एफक्यूबले बुधबार फिल्मलाई दिएको ६ शोजमध्ये २ः१५ बजेको शोज हाउसफुल नजिक पुगिसकेको छ भने त्यसपछिका शोजको पनि उल्लेख्य मात्रामा टिकट बिक्री भइरहेको देखिन्छ । देशकै ठूलो मल्टीप्लेक्स क्यूएफएक्स अन्तर्गत सिभिल, लबिमसहित मोफसलका पोखरा, दमौली, इटहरी जस्ता हलमा पनि बुधबार फिल्मलाई प्राप्त शोजमा अकुपेन्सी राम्रो छ ।

प्रदर्शनमा आउँदा फिल्मलाई ठूलो चुनौती थियो । एकातिर ठूला विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्नुपरेको थियो भने अर्कोतिर निरन्तर रुपमा वर्षा भइरहेको थियो । जसले गर्दा व्यापार प्रभावित हुनसक्ने आँकलन गरिएको थियो । तर, विदेशी फिल्मभन्दा ‘घरज्वाइँ’ नै दर्शकको रोजाईमा पर्‍यो । र, आइतबारबाट वर्षा हुन पनि रोकिएको अवस्था छ । यसले गर्दा फिल्मलाई ठूलो असर परेको छैन ।

मगर समुदायमा प्रचलित घरज्वाइँ परम्परामा आधारित भएर बनेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, शिशिर बाङ्देल, पुष्कर गुरुङ, बुद्धि तामाङ, भोलाराज सापकोटा, कविता आले, शिला आले, खड्कबहादुर पुन (खबपु), राज थापा, अनु थापा, सोनाम लामा लगायतको अभिनय छ । अनिल बुढा मगरको निर्देशनमा तयार भएको ‘घरज्वाइँ’लाई जनकघर्ती मगरले निर्माण गरेका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top